२०८२ फाल्गुन ३० गते शनिवार

दाङलाई चलचित्रको छायाङ्कनस्थल बनाउन सकिनेमा सरोकारवालाको जोड

दाङ । राष्ट्रिय सभाका पूर्व सदस्य कोमल वलीले दाङ जिल्ला चलचित्र छायाङ्कनका लागि प्राकृतिक रूपमा निकै उपयुक्त रहेको तर यसका लागि आवश्यक भौतिक संरचनाको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाको छैठौँ अधिवेशनलाई शनिबार तुलसीपुरमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । दाङको भूगोल र यहाँको विविधता चलचित्रका लागि ठूलो सम्पत्ति भएको बताउँदै उहाँले लगानी र पूर्वाधार विना यसको पूर्ण उपयोग हुन नसक्ने बताउनुभयो ।

उहाँले प्रविधिको विकासले पत्रकारिता र चलचित्र निर्माण दुवैमा सहजता ल्याए पनि यसको सही सदुपयोग र मौलिक मेहनत हराउन नहुने तर्फ सचेत गराउनुभयो ।

कार्यक्रममा चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष समीर बलामीले पछिल्लो समय सामाजिक सञ्जालले पत्रकारितालाई डोहोर्‍याइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । अहिले सामाजिक सञ्जालमा आएका सबै कुरालाई आँखा चिम्लेर विश्वास गर्ने प्रवृत्ति बढेको भन्दै उहाँले यस्तो समयमा विधागत र जिम्मेवार पत्रकारिताको भूमिका झन् चुनौतीपूर्ण र महत्वपूर्ण भएको बताउनुभयो ।

यस्तै पत्रकार तथा लेखक वसन्त आचार्यले तुलसीपुरमा सिनेमा हल निर्माणको प्रक्रिया अघि बढ्नुमा चलचित्र पत्रकारहरूको लामो समयदेखिको दबाब र भूमिका रहेको स्मरण गर्नुभयो । उहाँले समाजलाई डोहोर्‍याउने चलचित्र र चलचित्रलाई पनि डोहोर्‍याउने पत्रकार भएको बताउनुभयो ।

चलचित्र पत्रकार संघ लुम्बिनी प्रदेशका संयोजक शिव पुनले दाङमा केन्द्रित भएको चलचित्र पत्रकार संघलाई लुम्बिनी प्रदेशकै पहाडि जिल्ला रोल्पामा पनि पुर्‍याएको स्मरण गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा बन्द रहेका चलचित्र हल संचालनमा ल्याउन र दाङलाई छायांकनस्थलको रुपमा विकास गर्न कलाकार, निर्माता, निर्देशक, हल संचालक लगायतका संग निरन्तर समन्वय गरेको बताउनुभयो ।

यस्तै चलचित्र पत्रकार संघका केन्द्रिय सदस्य धु्रबराज न्यौपानेले विधागत पत्रकारिताले गुणस्तरता ल्याउने बताउनुभयो । उहाँले चलचित्र पत्रकारितामा कलम चलाउने पत्रकारले पनि चलचित्र पत्रकारितामा राम्रो कन्टेन्ट उत्पादन गर्न सक्ने बताउनुभयो ।

रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मीले चलचित्र पत्रकारलाई हौसला र उत्साहका लागि संघमा विभिन्न अक्षयकोष स्थापना गरेको बताउनुभयो । नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेतले चलचित्र पत्रकार संघ दाङले जिल्लाको पर्यटन क्षेत्रलाई चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ दाङका महिला उपाध्यक्ष नारायणी रजौरेले चलचित्र पत्रकारका कारण दाङ चलचित्रको छायांकनस्थल बन्न थालेको बताउनुभयो । नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काले चलचित्रका समाचारले विगतमा प्राथमिकता नपाउने गरेको बताउँदै आगामी दिनमा मनोरञ्जनका समाचारले पनि प्राथमिकता पाउने बताउनुभयो ।

प्रेस चौतारी दाङका अध्यक्ष सुधा सुमन ढकालले पत्रकारिता समाजको ऐना र चलचित्र समाजको कथा भएकोले दुवै एक ठाउँमा हुँदा समाजको वास्तविक कथा बाहिर आउने बताउनुभयो । प्रेस सेन्टर दाङका सचिव दिपक बोहराले चलचित्र पत्रकारिताले आम नागरिकलाई मनोरञ्जन र उत्साह दिने बताउनुभयो ।

चलचित्र पत्रकार संघ दाङ शाखाले शनिबार तुलसीपुरमा छैठौँ अधिवेशन गरेको हो संघका अध्यक्ष सन्तोष केसीको अध्यक्षता तथा राष्ट्रिय सभा पूर्व सदस्य कोमल वलीको प्रमुख आतिथ्यता एवं संघका केन्द्रिय अध्यक्ष समिर बलामीको विशिष्ठ आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो ।

संघका उपाध्यक्ष पूर्ण केसीको स्वागत मन्तव्यबाट शुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गर्नुभएको हो ।

यसैबिच चलचित्र पत्रकार संघ दाङको अध्यक्षमा निरला अर्याल सर्वसम्मत चयन हुनुभएको छ । संघको शनिबार तुलसीपुरमा भएको छैठौँ अधिवेशनले अर्यालको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा भुपेश वली, सचिवमा एकराज भण्डारी, कोषाध्यक्षमा झग्गु भण्डारी चयन हुनु भएको छ । यस्तै सदस्यमा टेकराज भण्डारी, हिमाल महरा र दिपेन खत्री चयन हुनुभएको छ । संघको तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको छ । नव नियुक्त संघका अध्यक्ष अर्यालले नयाँ कार्यसमितिले जिल्लामा चलचित्र पत्रकारितालाई अझै सशक्त बनाउँदै लैजाने बताउनुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस