दाङ । फागुन २१ को चुनावको अघिल्लो दिन २० गते साँझ मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका तुलसीपुर–१२ रझेनीका ५८ वर्षिय सुरेन्द्र आचार्यको निधन भएको छ । उहाँलाई २० गते साँझ करिब साढे ६ बजेतिर मोटरसाइकलले ठक्कर दिएको हो ।
मोटरसाइलको ठक्करबाट गम्भिर घाइते भएका उहाँको काठ्माडौको मेडिसिटी अस्पतालमा उपचारको क्रममा आइतबार राती निधन भएको हो ।
स्थानीयका चुर्ण केसीका अनुसार साँझको समयमा पैदलयात्रामा निस्किएका आचार्यलाई घरदेखि करिब २ सय मिटर तल राप्ती राजमार्गमा मोटरसाइकलले ठक्कर दिएको हो । तर ठक्कर दिने मोटरसाइकलको अझै पहिचान भएको छैन् ।
ठक्कर दिने मोटरसाइकलको पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले रेडियो हाम्रो पहुँचलाई बताउनुभयो । ‘चुनावको अघिल्लो दिन साँझ करिब साढे ६ बजेतिर मोटरसाइकलले ठक्कर दिएको रहेछ ।’ उहाँले भन्नुभयो–‘चुनावको समयमा भएकाले जनशक्ति कम हुँदाहुँदै पनि व्यापक खोजि गरेका थियौँ, अहिले पनि खोजिरहेका छौँ, तर अझैसम्म पहिचान हुन सकेको छैन् ।’
आचार्य सिर्जनशिल महिला वचत तथा ऋण सहकारी संस्थामा काम गर्नुहुन्थ्यो । उहाँको श्रीमती रमा आचार्य पशुपति मावि हरिपौरामा कार्यरत रहनुभएको छ । तर त्यस समयमा आचार्य घरमा एक्लै हुनुहुन्थ्यो । उहाँको एकमात्रै छोरा अष्ट्रेलियामा बस्नुहुन्छ । छोरा पनि दुर्घटनामा घाइते भएकाले श्रीमती रमा आचार्य छोराको हेरचाहका लागि अष्ट्रेलियामा जानुभएको थियो ।
घरमा एक्लै बस्दै आउनुभएका आचार्य चुनावको अघिल्लो दिन साँझको समयमा सडकमा पैदलयात्रामा निस्कुनभएको थियो । तर घरबाट निस्केको केहि समयमै उहाँलाई मोटरसाइकलले ठक्कर दिएको स्थानीय महिलाले देखेका थिए । तर मोटरसाइकलको नम्बर पत्ता लगाउन नसक्दा समस्या भएको हो ।
दुर्घटनामा गम्भिर घाइते आचार्यलाई तत्काल तुलसीपुरको सिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । त्यहाँ सामान्य उपचारपछि घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा त्यहाँ पनि उपचार सम्भव नभएपछि काठ्माण्डौको मेडिसीटी अस्पतालमा लगिएकोमा गएराती निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पारिवारिक श्रोतका अनुसार छोरा र श्रीमती काठमाण्डौँ आइसक्नु भएको छ । आचार्यको आजै पशुपति आर्यघाटमा अन्तष्टी गरिने छ ।
















