दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले कृषकलाई लक्षित गर्दै ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउ वितरण गर्ने भएको छ ।
नगर कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै उन्नत जातका धान बीउ उत्पादन, आपूर्ति तथा वितरण कार्यक्रम अन्तर्गत कृषकहरूलाई सहुलियतमा बीउ उपलब्ध गराइने जनाएको हो ।
चालु आर्थिक वर्ष २०८२/०८३ का लागि यो कार्यक्रम सञ्चालन गरिएको हो । इच्छुक कृषक, कृषक समूह, सहकारी तथा फर्महरूले आवश्यक कागजातसहित बैशाख ८ गतेसम्म निवेदन दिन सक्नेछन् ।
उपमहानगरपालिकाले मोटो तथा मध्यम प्रकृतिका धान सुख्खा धान–२, सुख्खा धान–३) र मसिनो प्रकृतिका धान सावा मन्सुली सव–१, हर्दिनाथ सावा मन्सुली, राम धान, हर्दिनाथ–६) का बीउहरूमा अनुदान उपलब्ध गराउने जनाएको छ । मोटा तथा मध्यम धानको मूल्य प्रतिकिलो ६९ रुपैयाँ र मसिनो धानको ७२ रुपैयाँ तोकिएको छ, जसमा ५० प्रतिशत अनुदान दिइनेछ ।
बीउ मागका लागि जग्गाधनी पूर्जाको प्रतिलिपी, कृषक समूह, सहकारी तथा फर्मका लागि दर्ता प्रमाणपत्रको प्रतिलिपी, बीउ मागसम्बन्धी निर्णयको प्रतिलिपि तथा सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र अनिवार्य गरिएको छ ।
धानको वीउ प्रतिकठ्ठा डेढ किलोका दरले सिफारिस गरिएकोले सोही बमोजीम माग गर्न भनिएको छ ।














