२०८३ बैशाख ४ गते शुक्रवार

गृहणी आमाहरुलाई भान्सा सुधारदेखि स्वास्थ्य सचेतना

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले गृहणी आमाहरुलाई भान्सा सुधारदेखि स्वास्थ्य सचेतना प्रदान गरेको छ । खानपान र सरसफाईको कमीसंगै म्याद नाघेका अखाद्यवस्तुका कारण स्वास्थ्यमा आउन जोखिमलाई मध्यनजर गरी वडाले खाद्य स्वच्छता र स्वास्थ्य सचेतना सम्बन्धि सचेतना कार्यक्रम गरेको हो ।

बिहिबार वडा कार्यालयमा सचेतना कार्यक्रमको आयोजना गरिएको हो । वडा अध्यक्ष खुशीराम चौधरीले पछिल्लो समय अस्वस्थ खानपान र सरसफाई सचेतनाको कमीका कारण विभिन्न प्रकारका स्वास्थ्य समस्या देखिन थालेकाले पनि गृहणी आमाहरुलाई सचेतना कार्यक्रम गरिएको बताउनुभयो । वडाका करिब ७० जना महिलाहरुलाई स्वास्थ्य सचेतना कार्यक्रम गरिएको हो ।

वडा अध्यक्ष खुशीराम चौधरीको अध्यक्षतामा सचेतना कार्यक्रमको उद्घाटन गरिएको हो । वडा सदस्य शेषमणी भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको उद्घाटन कार्यक्रममा वडा सदस्य कमला घर्ती मगरले खानपीन र सरसफाईमा ख्याल पुर्‍याउँदा धेरै रोगबाट बच्न सकिने बताउनुभयो ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख पदम बरालले भान्साको सुधारदेखि विषादीजन्य खानेकुराको बारेमा सचेतना प्रदान गर्नुभयो । उहाँले केरा पकाउन प्रयोग गरिने विषादीदेखि बिउबिजन खाँदा स्वास्थ्यमा पर्ने असरबारे सचेतना प्रदान गर्नुभयो ।

यस्तै तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक बिमल केसीले स्वास्थ्य र सरसफाईबारे सचेतना प्रदान गर्नुभयो । उहाँले सरसफाईको कमीले हुने स्वास्थ्य जोखिम र स्वस्थ जीवनशैलीबारे सहभागी महिलालाई प्रशिक्षण दिनुभएको हो ।

यस्तै तुलसीपुर उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण शाखा प्रमुख राजु श्रेष्ठले अखाद्यवस्तु खानपानबाट बच्न उपभोक्ता सचेत हुनुपर्ने बताउनुभयो । उहाँले गृहणी आमाहरुले खाना पकाउनुअघि म्याद नाघेकोवस्तु पहिचन गर्न सकेमा पनि स्वास्थ्य समस्याबाट बच्न सकिने बताउनुभयो । कार्यक्रमको सहजीकरण वडा सचिव गणेश कुमार आचार्यले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस