दाङ । तुलसीपुरको एक चिया घरबाट तरवार र खुकुरीसहित ८ जना पक्राउ परेका छन् । शनिबार दिउँसो करिब साढे ४ बजेतिर दुई वटा तरवार र एक थान खुकुरी सहित ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ पर्नेमा तुलसीपुर– १२ का २० बर्षीय प्रकाश छन्तेल, तुलसीपुर–६ का २१ वर्षीय कमल खड्का, सोही ठाउँका २१ वर्षीय टेकम डाँगी, १८ वर्षीय प्रशान्त भण्डारी, १८ वर्षीय रिजन भण्डारी, तुलसीपुर– ९ का २४ वर्षीय सुदन वली, तुलसीपुर– ५ का २१ वर्षीय आशिष भण्डारी र तुलसीपुर– २ का २२ वर्षीय निर्दोश बुढा मगरलाई पक्राउ गरिएको हो ।
तुलसीपुर– ६ स्थित सन्जित चौधरीको दारी चिया पसलमा धारिलो तरबार र खुकुरी समेत लिई गुण्डा गर्दी शैलीमा अराजक तरिकाले शान्ति सुरक्षामा नै खलल र्पुयाउने जस्ता गतिविधि गरिरहेका भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्रोतका अनुसार उनीहरुले कुनै ब्यक्तीमाथि आक्रमण गर्ने तयारी गरिरहेका थिए । त्यो सूचना पाएलगतै पुगेको सादा पोशाकको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट २ वटा तरबार र १ थान खुकुरी बरामद गरेको र उनीहरु विरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा सात दिन म्याद थप गरि अनुसन्धान जारी रहेकोे जनाएको छ ।



















