२०८३ बैशाख १ गते मङ्गलवार

कमाउने आशमा गएका शंकर बाकसमा फर्किए


दाङ । ग्वारखोला पुलबाट पुर्वतिर लागेपछि एउटा बस्ती आउँछ बैंचपुर । तर आइतबार यो गाउँमा चारैतिर सन्नटा छ । वैदेशिक रोजगारीमा गएका युवाको शब गाउँमा आउँदा घरपरिवारमात्रै होइन्, गाउँ नै शोकमा छ ।

नौ महिनाअघि गत असार ६ गते यही बाटो हुँदै २१ वर्षीय शंकर वली एउटा सुन्दर भविष्यको सपना बोकेर निस्किएका थिए । तर, आइतबार त्यही बाटो भएर शंकर फर्किए । तर फरक यति थियो । उनी हिँडेर होइन, काठको बाकसमा सुतेर फर्किए ।

तुलसीपुर–१६ बैंचपुरका शंकरको शव घर आइपुग्दा परिवार मात्र होइन, सिंगो गाउँ नै स्तब्ध बनेको छ । २१ वर्षको उमेर, जुन उमेरमा मान्छे आफ्ना र परिवारका सपना बुन्न थाल्छ, त्यही उमेरमा शंकरले संसार छाडे ।

घरको आर्थिक अवस्था सुधार गर्ने अठोटका साथ शंकरले करिब १५ लाख रुपैयाँ खर्चिएर गत असारमा बुलगेरियाको यात्रा तय गरेका थिए । घरको कान्छो छोरा, जसको काँधमा परिवारलाई सुख दिने ठूलो भारी थियो । तर, विदेशी भूमिमा सोचेजस्तो सहज कहाँ थियो र ? व्यक्तिगत श्रम स्वीकृतिमा गएका शंकरले सुरुदेखि नै काम, तलब र सेवा सुविधामा सास्ती भोग्नुपर्‍यो ।

बुलगेरियामा समस्या भोगेपछि एजेन्ट भीमबहादुर वलीले परिवारलाई जानकारी नै नदिई शंकरलाई ग्रिस पुर्‍याएको परिवारको गुनासो छ । ग्रिसको एउटा कृषि फार्ममा काम गर्न थालेका शंकरले फागुन २ गते मात्रै फुपु तुलसा महरासँग कुरा गर्दै भनेका थिए–‘म सञ्चै छु, साथीभाइले राम्रो सहयोग गरेका छन् ।’ तर, कसैले सोचेको थिएन— त्यो कुराकानी नै अन्तिम हुनेछ । त्यसको दुई दिनपछि, फागुन ४ गते उनी कार्यस्थलमै मृत फेला परे । उनको मृत्युको कारण अझै खुल्न सकेको छैन । मृत्युको कारण केहि नखुलेको मामा बम बहादुर डाँगीले बताउनुभयो । ‘मृत्युको कारण खुलेको छैन् ।’ उहाँले भन्नुभयो–‘शब ल्याउन असहज त भएन, मृत्युको वास्तविकता खुलेको छैन् ।’

आप्रवासी स्रोत केन्द्र तुलसीपुरका प्रमुख प्रिति घर्तीमगरका अनुसार सामी कार्यक्रम र वैदेशिक रोजगार बोर्डको समन्वयमा करिब दुई महिनाको पर्खाइपछि शंकरको शव नेपाल ल्याइएको हो । ‘पश्चिम दाङबाट वैदेशिक रोजगारीमा जानेको संख्या जति बढ्दो छ, बाकसमा फर्किनेको संख्या पनि उत्तिकै डरलाग्दो छ ।’ घर्तीमगर भन्नुहुन्छ–‘पछिल्लो समय औसतमा महिनामा एक जनाको शव आउने गरेको छ ।’

अविवाहित शंकरको आइतबार नै रानीघाट कालाखोलामा अन्त्येष्टि गरिएको छ । ऋण तिर्ने र परिवारलाई खुसी राख्ने सपना बोकेर हिँडेका युवाको अन्त्येष्टिमा सहभागी भएकाहरु सबै भावुक थिए ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस