२०८३ बैशाख ५ गते शनिवार

तुलसीपुरमा प्रहरी हवलदारको मोटरसाईकल ठक्करबाट एक जना घाइते


दाङ । दाङको तुलसीपुर कारागार कार्यालयमा कार्यरत प्रहरी हवलदारले चलाएको मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन् ।

हिजो शुक्रबार बिहान करिब ११ बजेतिर तुलसीपुरको गुल्मचोकस्थित जेब्राक्रसमा भे १४ प १६१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सल्यान घर भई हाल तुलसीपुर–८ दुधेनामा बस्दै आएकी १९ वर्षीया मुना बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उहाँको देब्रे खुट्टा भाँचिएको छ भने टाउकोमा समेत चोट लागेको छ ।

घाइते बुढाथोकीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँ यही बैशाखको १४ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षामा सहभागी हुने तयारीमा रहनुभएको थियो । बुढाथोकी हिमाल एकेडेमी तुलसीपुरमा कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ ।

ठक्कर दिने मोटरसाइकल चालक बर्दिया बढैयाताल–६ का ४१ वर्षीय प्रहरी हवलदार भरत थारु रहेको प्रहरीले जनाएको छ । उहाँ तुलसीपुर कारागार कार्यालयमा कार्यरत हुनुहुन्छ । दुर्घटनामा थारु स्वयं पनि सामान्य घाइते भएको र उहाँको बाँया खुट्टा र हातमा चोट लागेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस