
रोल्पा, २७ फागुन । यातायात व्यवस्था कार्यालय दाङमा ६ महिनाको अवधिमा २७ करोड बढी राजश्व संकलन भएको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २७ करोड बढी राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार ६ महिनामा २७ करोड २० लाख ४३ हजार ६२५ रुपैंया राजश्व संकलन भएको छ । यातायात सम्बन्धि विभिन्न सेवा प्रवाहका क्रममा यो राजश्व संकलन भएको यातायात व्यवस्था कार्यालय दाङका प्रमुख बिनोद पौडेलले बताउनुभयो ।
उहाँका अनुसार कार्यालयमा नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दर्ता गर्नेको संख्या १४ हजार १५४ पुगेको छ । यस्तै वर्ग थपका लागी सवारी चालक अनुमतिपत्र दर्ता गर्ने चार हजार ६९२ जनाले निवेदन दिएका छन् ।
कार्यालय प्रमुख पौडेललका अनुसार सवारी चालक अनुमतिपत्र नविकरण गराउनेको संख्या ५ हजार १५८ रहेको छ भने प्रतिलिपि अनुमतिपत्र लिनेको संख्या ७३ रहेको छ । ६ महिनाको अवधिमा जारी गरीएका नयाँ सवारी चालक अनुमतिपत्रको संख्या ५ हजार ५४९ रहेको छ ।
वर्ग थप सहित अनुमतिपत्र जारी गरीएका व्यक्तिहरुको संख्या २ हजार ३ रहेको छ । सवारी चालक अनुमतिपत्र वितरण तथा नविकरण प्रक्रियालाई थप प्रभावकारी बनाउदै लगेको कार्यालय प्रमुख पौडेलले बताउनुभयो ।