२०८२ जेष्ठ ८ गते बिहिवार

राजावादीको आन्दोलन : एक पत्रकारसहित दुईजनाको मृत्यु


काठमाडौं । काठमाडौंको तीनकुनेमा दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको समूहले गरेको राजावादीहरूको आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएको छ ।

तीनकुनेस्थित चौरमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति एवम् नागरिक बचाऊ महाअभियानका नामा भएको प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा कीर्तिपुर नगरपालिका–४ गाम्चा घर भएका २९ वर्षीय सबिन महर्जनको मृत्यु भएको छ ।

प्रहरीका अनुसार झडपका क्रममा सविनको छातीमा गोली लागेको थियो । गोली लागेपछि ढलेका सविनलाई त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी कक्षमा दिउँसो ३ बजेर ५५ मिनेटमा उपचारका लागि लगिएकोमा चिकित्सकले अपरान्ह ४ बजे मृत घोषणा गरेका हुन् ।

अहिले सविनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम गृहमा राखिएको छ ।

त्यसैगरी राजावादीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित एक घरमा जलेर एकजना पत्रकार मृत्यु भएको छ ।

राजावादीहरूले उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाएको उक्त भवनमा जिउँदै जलेर मृत्यु हुनेमा एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजक रहेको खुलेको छ ।

पत्रकार रजक एभिन्यूज टेलिभिजनका क्यामेरा म्यानका रुपमा कार्यरत रहेको खुलेको छ । तर प्रहरीले औपचारिक रुपमा उहाँको विस्तृत विवरण खुलाउन मानेको छैन ।

भवनमा आगो लगाइएपछि जलेर ज्यान गुमाएको अवस्थामा रजकको शव भेटिएको हो । तर जलेर मृत्यु भएका उहाँको शव नचिनिने अवस्थामा भेटिएको छ ।

अहिले त्यहाँ प्रहरी पसेर घटनास्थल जाँच प्रकृति मुचुल्का उठाइरहेको छ । प्रहरीसँगको झडपपछि तीनकुने क्षेत्रमा अवस्थित उक्त मार्बल हाउसमा आगजानी गरिएको थियो । यसअघि उक्त घरमा राजावादीले ढुंगा हानेर शिशा सबै फुटाइदिएका थिए ।

प्रतिक्रिया दिनुहोस