
दाङ। तुलसीपुरमा आगोजन्य विपद्बाट हुने क्षति न्यूनिकरणका लागि सचेतना कार्यक्रम गरिएको छ । भान्सामा ग्याँस तथा प्रज्वलनशिल पदार्थबाट लाग्ने आगोलाई निभाउने तरिका, शरिरमा लागेको आगो निभाउने उपाय लगायतका बारेमा सचेतनामूलक कार्यक्रम गरिएको हो ।
लुम्बिनी प्रदेश प्रहरी विपद व्यवस्थापन गुल्मका प्रहरी सहायक हवल्दार धनबहादुर चलाउनेले भान्सामा हुन सक्ने आगलागी बच्न सकिने उपायका बारेमा सचेतना प्रदान गर्नुभयो ।
ग्याँस विक्रेता महासंघ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालको अध्यक्षतामा कार्यक्रम गरिएको हो । नेपाल आयल निगमको सहयोगमा तुलसीपुर ग्याँस व्यवसायी समितिको व्यवस्थापन, नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको संयोजन, नेपाल प्रहरी लुम्बिनी प्रदेश विपद व्यवस्थापन गुल्मको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो ।
महासंघका अध्यक्ष अर्यालले आगोजन्य विपदबाट क्षति न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रममा सरोकारवालाको चासो बढेको बताउनुभयो । उहाँले तुलसीपुरमा भएको कार्यक्रमले नागरिकलाई सचेतना प्रदान गरेको बताउनुभयो । आगोजन्य विपदबाट बचाउनका लागि सचेतना आवश्यक रहेको भन्दै उहाँले कार्यक्रमलाई पालिका तथा वडास्तरमा पनि गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा चेम्बर अफ कमर्श तुलसीपुरका अध्यक्ष ऋषिराज भण्डारीले आगोजन्य विपदबाट बचाउन सचेतनामूलक कार्यक्रम प्रभावकारी बन्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण नेपाल नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीले गर्नुभएको हो ।