
दाङ । दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको एकै दिन दुई सहकारीले अवलोकन गरेका छन् । बर्दियामा रहेको शिव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कपिलवस्तु गरी दुई सहकारीले शनिबार एकैदिन हाम्रो पहुँचको अवलोकन गरेका हुन् ।
शनिबार बिहान शिव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बर्दियाका अध्यक्ष सीताराम चौधरीसहित संचालक समिति सदस्य, कर्मचारी र शेयर सदस्यले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संचालन गरेका विभिन्न विभागको अवलोकन गरेको संस्थाका सूचना अधिकारी रेखा शर्माले जानकारी दिनुभयो ।
यस्तै शनिबार दिउँसो लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कपिलवस्तुका संचालक समिति, शेयर सदस्य र कर्मचारीले अवलोकन गरेको सूचना अधिकारी शर्माले बताउनुभयो ।
उहाँका अनुसार लुम्बिनी सहकारीका अध्यक्ष हिमलाल बेलबासेकासहितका पदाधिकारी र शेयर सदस्यले अवलोकन गर्नुभएको हो । अवलोकनका क्रममा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष शुक्रराज भण्डारीले संस्थाको हालको सेवा प्रवाह, सदस्यहरूको सन्तुष्टि र भविष्यका योजनासम्बन्धी जानकारी प्रदान गर्नुभयो ।

उहाँले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संचालन गरेको रेडियो हाम्रो पहुँचसहित डेरी विभाग, पेट्रोलपम्प, विद्यालय, वचत तथा ऋण विभाग लगायतका बारेमा जानकारी गराउनुभएको हो ।
यस्तै सहकारी व्यवस्थापन र सेवा विस्तारका विविध पक्षमा छलफलसमेत भएको सूचना अधिकारी शर्माले बताउनुभयो । संस्थामा पछिल्लो समय दैनिकजसो सहकारी संस्थाहरु अवलोकनका लागि आउने गरेका छन् ।