दाङ । भारतको अन्डमान तथा निकोबार टापुमा सरदरभन्दा ९ दिनअगावै मनसुन भित्रिएको छ । यसले नेपालमा पनि चाँडो मनसुन भित्रने संकेत देखाएको छ । त्यसो त नेपालमा अहिले दिनहुँ पानी परिरहेको छ ।
जेठ शुरु हुँदा प्रि–मनसुन याममा सरदर वर्षा नै भइरहेको छ । मौसमविद् विनोद पोखरेलका अनुसार आगामी शनिबारदेखि दिनहुँ वर्षाको सम्भावना देखिएको छ ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
जसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भूभागमा आंशिकदेखि साधरणतया बदली रही देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।













