२०८३ मङ्सिर ६ गते आइतवार

आज बिहानैदेखि मौसममा बदली : केही ठाउँमा असिना र हिमपातको सम्भावना


दाङ । दाङ उपत्यकासहित देशका अधिकांश ठाउँमा आज बिहानैदेखि मौसममा बदली देखिएको छ । तराईका खोचहरुमा हुस्सु र कुहिरो लागेको छ भने पहाडी र हिमाली भेगका केही ठाउँमा बिहानैदेखि हल्का पानी पर्न थालेको छ ।

तराईका धेरैजसो ठाउँमा भने वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । भोलि र पर्सि आजजस्तो वर्षा नहुने तर पहाडी र हिमाली भेगका एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज केही ठाउँमा असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम किसिमको वर्षा र हिमपात हुन सक्ने संभावना छ ।

कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भेगको एक–दुई ठाउँमा पनि हल्का वर्षा र हिमपातको सम्भावना छ । महाशाखाका अनुसार बुधवार भने मौसम मुख्यतया सफा रहनेछ । आज केही ठाउँमा मध्यमसम्मको वर्षा हुन सक्ने भएकाले धानबालीमा ध्यान दिन मौसमविद्को आग्रह छ ।

यसैबीच बंगालको खाडीमा विकसित भएको न्यूनचापीय क्षेत्र भोलि बेलुकासम्म चक्रवात आँधीमा परिणत हुन सक्ने भए पनि नेपालमा यसको खासै असर नपर्ने देखिएको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस