२०८२ माघ २५ गते आइतवार

सल्यानमा चैते धानको खेती विस्तार

सल्यान । सल्यानको कालीमाटी गाउँपालिका र कुमाख गाउँपालिकामा चैते धानको खेती विस्तार गरिएको छ । कृषि विकास कार्यालय सल्यान, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र सम्बन्धित स्थानीय तहको सहकार्यमा कालीमाटी गाउँपालिका ५ जुमखोला, दम्दवाली, बालुवा र कुमाख गाउँपालिकाको रागे चौरस्थित मर्म खोलामा चैते धान विस्तार गरिएको हो ।

दुई वर्ष अघिसम्म दुई पालिकाका स्थानीय किसानले २५/३० रोपनी खेतमा मात्र चेतै धान लगाउँदै आएकामा अहिले कालीमाटीमा सय र कुमाख गाउँपालिकामा सय रोपनी खेतमा लगाएका छन् ।

कालीमाटी गाउँपालिका ५ बालुवा, जुमखोला, दम्दवालीमा कृषि विकास कार्यालय र कालीमाटी गाउँपालिकाले सिँचाइ कुलो निर्माण गरेपछि सिँचाइमा सहज हुँदा स्थानीय चैत धान खेतीमा उत्साहित भएका थिए ।

कृषि विकास कार्यालय, प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना र स्थानीय तहले सिँचाइ कूलो निर्माण गरेपछि वर्षातको समयमा एकबाली धान, मकै र हिउँदमा गहुँ लगाउँदै आएका किसानले अहिले दुई बाली मात्र धान लगाउँदै आएका छन् । दुई बाली धान, मकै र हिउँदमा गहुँ लगाउन थालेपछि किसानलाई जीविकोपार्जनमा धेरै सहज भएको छ ।

कालीमाटीमा गत वर्ष चैत ५ जातको धान परीक्षण गर्दा असफल भएपछि स्थानीय जातको सि.एच. ४५ जातको धान लगाएको र अहिले राम्रो फस्टाएको मात्र नभई चैते धान फुल्न थालेको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले बताउनुभयो ।

चैते धान खेतीलाई कालिमाटीका विभिन्न स्थानका थप सय रोपनीमा विस्तार गर्न ठाउँ ठाउँमा सिँचाइ कुलो निर्माणको काम भइरहेको उहाँले जानकारी दिनुभयो । यता प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना सल्यानका प्रमुख केशवराज बस्नेतले परियोजना अन्तर्गत कुमाख गाउँपालिकाको रागे चौरस्थित मर्मखोला किनारमा रहेका खेतमा दुई वर्षअघि चैते ५ जातको चैते धान परीक्षण गर्दा सफल भएपछि अहिले सय रोपनी जग्गामा स्थानीय किसानले चैते धान लगाउँदै आएका बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस