दाङ । लुम्बिनी प्रदेशसहित देशका अधिकांश ठाउँमा आज पनि वर्षाको संभावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । दाङ उपत्यकामा बिहानैदेखि मौसम धुम्म भएको छ ।
सबै प्रदेशहरूका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ ।
अहिले कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भागमा र लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायुको प्रभाव छ । देशको पश्चिमी भागमा भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
















