
दाङ, ११ असार । प्युठानको खलंगामा रहेको ओम बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारीले तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुद्देश्यीय सहकारी संस्थाको अवलोकन गरेका छन् ।
पदाधिकारीले बुधबार हाम्रो पहुँचले संचालन गरेका सबै विभागको जानकारी लिएर विद्यालय, डेरी लगायतका विभागको अवलोकनसमेत गरेका हुन् ।
सहकारीका अध्यक्ष लोकेन्द्र सुनार, पूर्व अध्यक्ष बिजय कुमार श्रेष्ठ, व्यवस्थापक बसन्तलाल श्रेष्ठ लगायतको टिमले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारी, प्रमुख कार्यकारी अधिकृत जनक भण्डारी, वचत तथा ऋण विभागका प्रमुख दुर्गा प्रसाद भण्डारी लगायतसंग भेटघाट गरेको हो ।
संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले अवलोकनका लागि आएको ओम बहुउद्देश्यीय सहकारी संस्थाका सम्पूर्ण पदाधिकारीलाई हाम्रो पहुँच सहकारी स्थापनाको उद्देश्य, संचालन प्रक्रिया, व्यवसायका प्रकृति, सहकारीको हालको अवस्था, सहकारीले निर्माण गरेका कार्यविधि लगायतका बारेमा जानकारी गराउनुभएको छ ।
उहाँले सकेसम्म सहकारीका सदस्यको कारोबारलाई बाहिर जान नदिने गरी संस्थाले विभिन्न किसिमका व्यवसाय संचालन गरेको बताउनुभयो । निति र विधिभित्र संचालन भएमा कुनै व्यवसाय घाटामा नजाने उहाँले बताउनुभयो ।
यस्तै ओम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लोकेन्द्र सुनारले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाबाट धेरै कुराको जानकारी तथा ज्ञान लिनका लागि सहकारीको टिम नै अवलोकनका लागि आएको बताउनुभयो । उहाँले सहकारीले सदस्यको लगानीलाई उत्पादनमूलक क्षेत्रमा लगाउनका लागि हाम्रो पहुँचले संचालन गरेको व्यवसायको सिको पनि गर्न सकिने बताउनुभयो ।
त्यस अवसरमा तुलसीपुर–७ का अध्यक्ष रामबहादुर जिसीले प्युठानबाट अवलोकनका लागि आएको सहकारीको टिमलाई स्वागत गर्दै हाम्रो पहुँच सहकारी सिकाईको केन्द्र बनेको बताउनुभयो ।