२०८३ बैशाख १५ गते मङ्गलवार

सहयोगी सहकारीले मनायो १७औँ स्थापना दिवस


दाङ । दाङको तुलसीपुरमा रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १७औँ स्थापना दिवस मनाएको छ । संस्थाले आज मंगलबार स्थापना दिवसको अवसरमा सहकारी संवाद तथा रक्तदान कार्यक्रम गरेको हो ।

संस्थाका अध्यक्ष डिलाराम बिष्टको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा पैरवी तथा नियमणकारी निकायबाट छलफल भएको हो ।

सो अवसरमा जिल्ला सहकारी संघ दाङका अध्यक्ष हेमराज गौतमले जुन उद्देश्यका संस्था स्थापना गरेको हो सोही अनुरुप काम गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीहरूले आफ्नो उद्देश्यअनुसार ७० प्रतिशत र बाहिरका क्षेत्रमा ३० प्रतिशतसम्म काम गर्न पाउने व्यवस्था रहेको जानकारी गराउँदै उद्देश्यभन्दा बाहिर गएर काम गर्दा समस्या आउने बताउनुभयो ।

उहाँले नियामक निकाय, सहकारी अभियन्ता र सञ्चालकहरूबीच सहकार्य आवश्यक रहेको बताउँदै सहकारीको अवस्थाबारे नियमित अनुगमन भइरहेको जानकारी दिनुभयो ।

त्यस्तै जिल्ला बचत संघका अध्यक्ष बिमल अधिकारीले नियमन गर्ने निकायको कमजोरीका कारण सहकारी क्षेत्र कमजोर बन्दै गएको टिप्पणी गर्नुभयो । उहाँले अभियानको तर्फबाट कारबाही गर्न नसकिने स्पष्ट पार्दै सचेतना जगाउने काम मात्रै हुने गरेको बताउनुभयो । स्थानीय सरकारले नियम विपरी सञ्चालनमा रहेका सहकारीहरुलाई कारबाही नगरेसम्म सुधार नआउने उहाँको भनाई छ ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका सहकारी शाखा प्रमुख ललित बहादुर घर्तीले हाल उपमहानगरपालिकामा १८१ वटा सहकारी संस्था रहेको जानकारी दिनुभयो । तीमध्ये कृषि ९३, बचत तथा ऋण ३६, बहुउद्देश्यीय १८, अन्य १५, उपभोक्ता १, दुग्ध ४, बीउबिजन १, साना किसान ६, विद्युत् ३, सञ्चार १ तथा मत्स्य, पशुपालन र मौरीपालन सम्बन्धी १/१ संस्था रहेका छन् । १८१ सहकारीमध्ये २० वटा सहकारी संस्था सम्पर्कमा नरहेको उहाँले बताउनुभयो ।

सहकारी प्रवद्र्धनका लागि उपमहानगरपालिकाले वार्षिक ५ लाख रुपैयाँ बजेट विनियोजन गर्ने गरेको जानकारी दिँदै उहाँले वित्तीय साक्षरताका लागि ४ लाख ५० हजार र अनुगमनका लागि ५० हजार रुपैयाँ छुट्याइएको बताउनुभयो ।

संस्थाका अध्यक्ष बिष्टले सहकारीहरूले गरेको कामको स्थानीय तहले उचित मूल्यांकन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । संवादको निचोड जिल्ला सहकारी संघ दाङका महासचिव तथा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले प्रस्तुत गर्नुभएको थियो ।

उपाध्यक्ष लाल बहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष ओपेन्द्र बस्नेतले गर्नुभएको हो । कार्यक्रममा २० जनाभन्दा बढीले रक्तदान गरेका थिए ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस