२०८३ बैशाख १३ गते आइतवार

सानाकिसान सहकारीद्वारा एक महिने वित्तीय साक्षरता अभियान सुरु

सल्यान । सल्यानको कपुरकोटस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरूका लागि समूह–अन्तरसमूह सुदृढीकरण तथा वित्तीय साक्षरता तालिमको एक महिने अभियान सञ्चालन गरेको छ ।

संस्थाले सदस्यहरूलाई आर्थिक रूपमा सचेत र व्यावसायिक बनाउने उद्देश्यका साथ यो वृहत् अभियानको थालनी गरेको हो ।

इहि वैशाख ११ गते शुक्रबार कपुरकोट गाउँपालिका वडा नम्बर २, दानबाङबाट औपचारिक रूपमा यो कार्यक्रमको सुरुवात गरिएको हो । वैशाख महिनाभरि चल्ने यो अभियान आगामी जेठ ५ गतेसम्म निरन्तर सञ्चालन हुने संस्थाले जनाएको छ ।

तालिम कार्यक्रममा सहभागी शेयर सदस्यहरूलाई वित्तीय साक्षरता अन्तर्गत आम्दानी र खर्चको सन्तुलन, बचत गर्ने बानी, पारिवारिक बजेट निर्माण, ऋणको सही सदुपयोग, बिमाको महत्त्व, रेमिटान्सको सही व्यवस्थापन तथा आधुनिक विद्युतीय कारोबार (डिजिटल बैंकिङ) सम्बन्धी विस्तृत जानकारी दिइनेछ ।

संस्थाका वरिष्ठ प्रबन्धक तीर्थराज शर्माका अनुसार यस एक महिने अभियानका लागि प्रशिक्षकको रूपमा संस्थाका प्रबन्धक जित प्रसाद आचार्यलाई खटाइएको छ । तालिमको माध्यमबाट किसानहरूलाई वित्तीय अनुशासन सिकाउने र उनीहरूको आर्थिक स्तर उकास्ने लक्ष्य राखिएको छ ।

तालिम कार्यक्रमकै अवसर पारेर संस्थाले आफ्ना शेयर सदस्यहरूलाई प्रोत्साहन स्वरूप बेमौसमी तरकारी खेतीका लागि विभिन्न जातका बीउ–बिजन समेत वितरण गर्ने कार्यक्रम रहेको छ । किसानहरूलाई व्यावसायिक तरकारी खेतीतर्फ थप आकर्षित गर्न र उत्पादन वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको संस्थाले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस