तुलसीपुर । हाम्रो पहुँच सेकेन्डरी स्कुलका विद्यार्थीहरुले खेतमा धान रोपेर राष्ट्रिय धान दिवस मनाएका छन् । तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाद्धारा सञ्चालित हाम्रो पहुँच सेकेन्डरी स्कुलमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरू तुलसीपुर उपमहानगरपालिका–१६ फचकलुवामा गएर धान रोपेरका हुन् ।

तुलसीपुर उपमहानगरपालिका–१६ का जग्गाधनी यज्ञमूर्ति गौतमको खेतमा गएर विद्यार्थीहरुले धान रापेका हुन् । विद्यालयले प्रत्येक वर्ष परियोजना कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई फिल्डमै लगेर व्यावहारिक ज्ञान प्रदान गर्दै आएको छ ।

आज आइतबार एक कार्यक्रमको आयोजना गरी धान दिवस मनाएको छ । हाम्रो पहुँच सेकेन्डरी स्कुलका सहायक प्रधानाध्यापक शिव पुनको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका–१६ का वडा अध्यक्ष शिवानन्द डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
प्रमुख अतिथी डाँगीले विद्यालयले बालबालिकालाई व्यवहारिक सीप सिकाउने उद्देश्यले खेतमै लगेर धान रोप्ने अभ्यास गराउनु राम्रो प्रयास भएको बताउनुभयो । उहाँले पछिल्लो पुस्तामा कृषि ज्ञान क्रमशः हराउँदै गएको अवस्थामा विद्यालयले विद्यार्थीहरूलाई फिल्डमै लगेर प्रयोगात्मक रूपमा धान रोप्न लगाउनु ऐतिहासिक कार्य भएको बताउनुभयो । विद्यालयले कृषिप्रतिको लगाव बढाउन गरेको यो अभ्यास उदाहरणीय रहेको उहाँको भनाई छ ।

वडा अध्यक्ष डाँगीले विद्यार्थीहरूले हिलोमा खेल्दै रमाउँदै धान रोपेको देख्दा खुसी लागेको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई भविष्यमा कृषिमा अब्बल बन्ने सपना देख्न सुझाव दिनुभयो । कृषि क्षेत्रलाई समुन्नत बनाउन विद्यालय परिवार र विद्यार्थीको सक्रिय सहभागिता देख्दा आफू खुसी भएको उहाँले बताउनुभयो ।
विद्यालयमा अध्ययनरत बालबालिकालाई सानै उमेरदेखि व्यवहारिक ज्ञान प्रदान गरेकोप्रति उहाँले विद्यालयलाई धन्यवाद दिदै विद्यालयले दक्ष जनशक्ति उत्पादनसँगै कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राख्दै विद्यार्थीलाई खेतमा लगेर व्यावहारिक अभ्यास गराउनु सराहनीय रहेको उहाँले बताउनुभयो ।
जग्गाधनी यज्ञमूर्ति गौतमले आफ्नो खेतमा विद्यार्थीहरूलाई धान रोप्ने अवसर प्रदान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले विद्यालयले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान प्रदान गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
विद्यालयका सहायक प्रधानाध्यापक पुनले विद्यार्थीलाई किताबी ज्ञान मात्र नभएर व्यावहारीक ज्ञान प्रदान गर्न धान रोपाईमा संलग्न गराएको बताउनुभयो । उहाँले प्रत्येक वर्ष परियोजना कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई फिल्डमै लगेर व्यावहारिक ज्ञान प्रदान गर्दै आएको बताउनुभयो । आज रोपेको धान हेर्न फेरि विद्यार्थीहरूलाई त्यही खेतमा लैजाने बताउदै उहाँले धान पसाउने बेलामा देखिने समस्या र समाधानबारे विद्यार्थीहरूलाई अवलोकन गराइने बताउनुभयो ।
त्यसपछि धान काट्ने बेलामा पुनः विद्यार्थीहरूलाई फिल्डमै लैजाने र तीन चरणमा सम्पन्न हुने परियोजनाबाट विद्यार्थीहरूले व्यवहारिक ज्ञान लिन सक्ने पुनको भनाइ छ ।

कार्यक्रमको सहजीकरण शिक्षक लक्ष्मी घिमिरेले गर्नुभएको हो । धान रोपाई कार्यक्रममा शिक्षक जमुना घिमिरे, नवराज शर्मा, सन्देश भण्डारी लगायतको उपस्थिति रहेको थियो । धान रोपाइमा २२० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।













