दाङ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तुलसीपुर दाङको वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमा कार्यशाला आज (शनिबार)देखि सुरु भएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिकालाई कार्यक्षेत्र बनाई २०६४ सालमा स्थापना भएको सहकारी संस्थाले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम तर्जुमा गर्न तीनदिने कार्यशालाको आयोजना गरेको हो ।
२०८१ सालमा दोस्रो पटक तय गरिएको पञ्चवर्षीय रणनीतिक योजना अन्तर्गत तोकिएको लक्ष्य अनुसार संस्थाको वार्षिक समीक्षा तथा आगामी वर्षको कार्यक्रम र बजेट निर्माण गर्न कार्यशालाको आयोजना गरिएको बताइएको छ ।
कार्यशालाको उद्घाटन संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको अध्यक्षतामा बर्दियाको ठाकुरद्वारामा गरिएको हो । संस्थाले पञ्चवर्षीय रणनीतिक योजना निर्माण लागू गरेर कार्यान्वयन गरेका कारण विभागहरूले सफलता प्राप्त गर्न महत्त्वपूर्ण भूमिका खेलेको संस्थाका सल्लाहकार भरत भण्डारीले बताउनुभयो । उहाँले अब निर्माण हुने आगामी वर्षको योजनामा निर्माण गर्दा विगतको समीक्षा, छलफल तथा लक्ष्य प्राप्तिमा गरिएको मेहनतलाई आधार मान्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा लेखा सुपरिवेक्षण समिति संयोजक सुर्य प्रसाद शर्माले संस्थाका सबै सदस्यहरूको त्याग, सहयोग र एकताको भावनाले सहकारी संस्थालाई देशकै नमुना सहकारी संस्था बनाउन सफल भएको बताउनुभयो । उहाँले संस्थाका सदस्यहरूका लागि लक्षित कार्यक्रमहरू निर्माण गर्नुपर्ने सुझाव दिनुभयो । यस्तै संयोजक शर्माले प्रविधिको विकाससंगै कार्यरत जनशक्तिलाई प्रविधिमैत्री बनाई सेवा प्रबाहलाई सजिलो बनाउनुपर्ने बताउनुभयो ।
संस्थाले यसवर्ष तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा विद्यालयको आफ्नै सुविधा सम्पन्न भवन निर्माण गर्ने योजना बनाएकोे अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । उहाँले संस्था सञ्चालनका लागि सहभागितामूलक व्यवस्थापन प्रणाली अवलम्बन गरिरहेको बताउनुभयो । नीति निर्माण गर्दा सञ्चालकसहित कार्यान्वयन तहका प्रमुख विभागीय व्यवस्थापक समेतलाई राखेर छलफल गरिने भएकाले सो प्रणाली प्रभावकारी रूपमा रहने गरेको छ ।
उहाँले नीति निर्माण तयारीको चरणमा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समित, उपसमिति र सबै विभागका विभागीय व्यवस्थापकहरू संगको व्यापक छलफलपछि अन्तिम नीति तथा कार्यक्रम तय गरिने भएकाले कार्यान्वयन तवरमा सजिलो हुने बताउनुभयो ।
संस्थाका उपाध्यक्ष बुद्धिराम बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले गर्नुभएको होे । आज देखि सुरु भएको कार्यशाला पर्सीसम्म चल्नेछ ।
सहकारी संस्थाले हाल बचत तथा ऋण विभाग, सहकारी पेट्रोल पम्प, रेडियो हाम्रो पहुँच, हाम्रो पहुँच सेकेण्डरी स्कुल, डेरी विभाग सञ्चालन र कृर्षि विभाग सञ्चालन गरेको छ । त्यस्तै नवीकरणीय ऊर्जा कार्यक्रम अन्तर्गत इन्डक्सन चुलो र रासायनिक मलको कारोबार गरिरहेको छ ।
संस्थामा अहिले ५ हजार बढी सदस्यहरु रहेका छन् भने एक सय बढी स्वरोजगार रहेका छन् । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था २०८१ सालमा नेपालमै बहुउद्देश्यीय कारोबार गर्ने संस्थाहरू मध्य उत्कृष्ट कारोबार गर्ने संस्थाका रूपमा पुरस्कृत समेत भइसकेको छ ।














