तुलसीपुर । नेशनल प्याब्सन तुलसीपुर दाङको आयोजनामा हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीजको अवसर पारेर तीज विशेष सांस्कृतिक नृत्य प्रतियोगिता–२०८२ सम्पन्न भएको छ ।
नेसनल प्याब्सन तुलसीपुर नगरका अध्यक्ष सुमन केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखाका शिक्षा अधिकृत मनबहादुर खड्काको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खड्काले तीज पर्वले नेपाली समाजमा महिलाहरुको भूमिका, संस्कार र संस्कृति संरक्षणमा योगदान पुर्याउने बताउनुभयो । उहाँले यस्ता प्रतियोगिताले विद्यार्थीमा लुकेका प्रतिभा उजागर गर्न सहयोग पुर्याउने धारणा राख्नुभयो ।
विशिष्ट अतिथि जिल्ला अध्यक्ष शालिकराम कार्कीले तीजजस्ता पर्वले समाजमा आपसी मेलमिलाप, संस्कृतिप्रतिको लगाव र राष्ट्रिय एकता मजबुत हुने बताउनुभयो । उहाँले एन प्याब्सनले गर्दै आएको शैक्षिक र सांस्कृतिक पहल सराहनीय रहेको उल्लेख गर्नुभयो ।

जिल्ला सचिव छविकुमार ओली, वरिष्ठ उपाध्यक्ष ठाकुर डाँगी लगायतकाले विद्यार्थीलाई किताबी ज्ञानमा मात्रै सीमित नराखी अतिरिक्त गतिविधि मार्फत व्यवहारिक सीप विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रतियोगितामा अमृत एकाडेमी प्रथम, सगरमाथा बालबाटिका स्कुल द्वितीय, शिखा इङ्ग्िलस बोर्डिङ स्कुल तृतीय र लोकप्रिय एकाडेमी सान्त्वना भएका छन । विद्यालय र विद्यार्थीहरुलाइ पुरस्कार, प्रमाणपत्र प्रदान गरिएको थियो ।

एन प्याबसनका जिल्ला उपाध्यक्ष लिलाधर भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नगर सचिव रमेश पौडेलले गर्नुभएको हो ।














