दाङ, ६ भदौ । तुलसीपुरमा रहेको हाम्रो पहुँच माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी परियोजना कार्यका लागि राप्ती प्रादेशिक अस्पतालमा पुगेका छन् । विद्यार्थीले अस्पतालमा पुगेर सेवा प्रवाह, जनशक्तिको अवस्था, स्रोत साधनको प्रयोग लगायतका विषयमा जानकारी लिएका छन् ।
कक्षा ८ को स्वास्थ्य विषयको परियोजना कार्य अन्तर्गत विद्यार्थी अस्पतालमा पुगेको विद्यालयका सहायक प्रधानाध्यापक शिव पुनले जानकारी दिनुभयो । विद्यार्थीको सिकाईलाई प्रभावकारी बनाउन पनि परियोजना कार्य अन्तर्गत अस्पतालमा गएर भौतिकरुपमा अध्ययन गरेको उहाँले बताउनुभयो ।
विद्यार्थीले अस्पतालको अवलोकन गरेर अस्पतालमा दुई वर्षमा प्रवाह गरिएको उपचार सेवा, बाहिरी जिल्लाबाट आउने बिरामीको संख्या, विषेशज्ञ डाक्टरको अवस्था लगायतका बारेमा परियोजना कार्य गरेका छन् ।

कक्षा ८ मा अध्ययनरत ९० जना विद्यार्थीले अस्पतालको अवलोकन गरी परियोजना कार्य गरेका छन् । विद्यार्थीसंगै सम्बन्धित शिक्षक नन्दु केसी र नवराज शर्मा पनि अस्पतालमा पुग्नुभएको हो ।
















