२०८३ जेष्ठ २२ गते शुक्रवार

क्षयरोगमुक्त पालिका अभियानका लागि तुलसीपुरमा अभिमुखीकरण


दाङ, २२ जेठ ।
क्षयरोगमुक्त पालिका अभियानलाई प्रभावकारी बनाउन तुलसीपुरमा युवा, नागरिक समाज तथा सरोकारवालासँग अभिमुखीकरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धनशाखाको आयोजनामा भएको कार्यक्रममा आगामी तीन वर्षभित्र क्षयरोगमुक्त पालिका घोषणा गर्ने लक्ष्य राखिएको छ ।

स्वास्थ्य अधिकृत तथा क्षयरोग फोकल पर्सन शिवप्रसाद तिवारीले सरकारी स्वास्थ्य संस्था तथा केही निजी स्वास्थ्य संस्थामार्फत सञ्चालन भइरहेका १३ वटा डट्स केन्द्रबाट क्षयरोगको निःशुल्क निदान, उपचार तथा व्यवस्थापन सेवा प्रदान भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार उपचारपश्चात् क्षयरोग निको हुने दर ९७ प्रतिशत रहेको छ भने मृत्युदर ३ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको जेठ दोस्रो सातासम्म तुलसीपुरमा ३ सय ५५ जना क्षयरोगका बिरामी भेटिएका छन् । तीमध्ये १५ वर्षमुनिका बालबालिका ३४ जना र १५ वर्षभन्दा माथिका ३ सय २१ जना रहेका छन् ।

नेपाल सरकारले सन् २०३५ सम्म क्षयरोगको अन्त्य गर्ने राष्ट्रिय लक्ष्य लिएको सन्दर्भमा तुलसीपुर उपमहानगरपालिकाले पनि आगामी तीन वर्षभित्र पालिकालाई क्षयरोगमुक्त घोषणा गर्ने तयारीलाई तीव्रता दिएको छ ।

कार्यक्रममा सरोकारवालाहरूले कुपोषण, मधुमेह, धूम्रपान, एचआइभी संक्रमण तथा मद्यपानजस्ता कारणले क्षयरोगको जोखिम बढ्दै गएको भन्दै समुदायस्तरमा व्यापक सचेतना आवश्यक रहेकोमा जोड दिएका छन् ।

तुलसीपुर नगर जेसीजका अध्यक्ष कमलप्रकाश शर्माले क्षयरोग लागेका बिरामीलाई उत्प्रेरणा दिनुपर्ने बताउँदै समयमै उपचार गरेमा रोग पूर्ण रूपमा निको हुने भएकाले विद्यालय र ग्रामीण समुदायबाटै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यसैगरी, माध्यमिक विद्यालय तुलसीपुर सेन्टरका प्रधानाध्यापक भागवत पौडेलले क्षयरोग व्यक्तिगत मात्र नभई सामुदायिक सरोकारको विषय भएकाले यसको नियन्त्रणमा सबैले जिम्मेवारीपूर्वक सहयोग गर्नुपर्ने बताउनुभयो। विद्यार्थीलाई सचेत बनाउन सके उनीहरूमार्फत हजारौँ नागरिकसम्म सन्देश पुर्‍याउन सकिने उहाँको भनाइ थियो ।

कार्यक्रमका तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले विद्यालय र विद्यार्थीमार्फत व्यापक रूपमा सचेतना फैलाउन काम भइरहेको बताउनुभयो । जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख ओमपी न्यौपानेले खुला सिमाना, एचआइभी तथा मधुमेह संक्रमण, साथै सबै सरकारी स्वास्थ्य संस्थाबाट क्षयरोगको निदान सेवा उपलब्ध हुन नसक्दा चुनौती देखिएको बताउनुभयो ।

स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने डट्स विधि भने क्षयरोग उपचारको सबैभन्दा भरपर्दो र प्रभावकारी उपाय भएको बताउनुभयो । उहाँले क्षयरोग रोकथाम तथा नियन्त्रणका लागि नवजात शिशुलाई जन्मने बित्तिकै बिसिजी खोप लगाउनुपर्ने, दूध राम्रोसँग उमालेर सेवन गर्नुपर्ने, घरपरिवार तथा वातावरण सफा राख्नुपर्ने, पोषणयुक्त आहार खानुपर्ने तथा मद्यपान र धूम्रपानबाट टाढा रहनुपर्ने सुझाव दिनुभयो। साथै, उपचारको प्रारम्भिक चरणमा रहेका बिरामीको संसर्गबाट सावधानी अपनाउन सके क्षयरोग नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस