दाङ, २२ जेठ । दाङमा लागुऔषध ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका –५ धर्नाका २५ वर्षका बिपिन केसी, घोराही–५ रतनपुरका २५ वर्षकै पुष्कर भण्डारी, प्युठानको स्वर्गद्धारी नगरपालिका ३– भिङग्रीका २८ वर्षिय उत्तम सुनार र रोल्पाको सुनिलस्मृती गाउँपालिका–५ काभ्राका २९ वर्षिय किरण थापा रहेका छन् ।
उनीहरूको शरीर तथा कोठा खानतलासी गर्दा दुई पुडियामा राखिएको ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभयो ।
घोराही उपमहानगरपालिका–१५ जानकी टोलमा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । उक्त पदार्थको तौल ३४० मिलिग्राम रहेको बताइएको छ ।
यस्तै, वडा प्रहरी कार्यालय घोराहीको टोलीले घोराही उपमहानगरपालिका–१४ नयाँ बजार क्षेत्रमा शंकास्पद रूपमा हिँडिरहेका दुई जनालाई नियन्त्रणमा लिई खानतलासी गर्दा थप ८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१८ अम्बापुरका २८ वर्षिय बिजय पोख्रेल र घोराही–१५ आइरनगेटका १८ वर्षिय प्रदिप सुनार रहेमा छन् । कुल ४२० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको छ । पक्राउ परेका ६ जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


















