
दाङ, १७ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ ले सडक पेटीमा बाँधिएका पशुचौपाया हटाउन निर्देशन जारी गरेको छ । मूल सडक तथा भित्रि सडकमा बाँधिएका पशुचौपायाका कारण दुर्घटनाको जोखिम बढेको भन्दै वडाले पशु चौपाया हटाउन सम्बन्धित किसानलाई निर्देशन जारी गरेको हो ।
वडा अध्यक्ष मोहन पौडेलले सडकपेटीमा बाँधिएका पशु चौपाया हटाउन ७ दिने सार्वजनिक सुचना जारी गरिएको बताउनुभयो । उहाँले कसैले पनि सूचनालाई अटेर गरी सडकमै पशुचौपाया बाँधेको पाइएमा कानुन बमोजिम कार्बाही गरिने बताउनुभयो ।
पशुचौपायाका कारण सवारी दुर्घटनाबाट क्षति भएमा त्यसवाफत पाउनुपर्ने क्षतिपुर्ति सम्बन्धित व्यक्तिले नै दिनुपर्ने बताउनुभयो । जथाभावीरुपमा सडकपेटीमा पशुचौपाया बाँधेका कारण सवारी आवागमनमा समस्या भएको सूचनामा उल्लेख गरिएको छ ।