दाङ, २१ भदौ ।
ज्ञान ज्योति एजुकेशन फाउण्डेशनले सञ्चालन गरेको ज्ञान ज्योति माध्यमिक विद्यालयमा कक्षा ११ का नयाँ भर्ना भएका विद्यार्थीलाई विशेष कार्यक्रमसहित स्वागत गरिएको छ ।
शनिबार विद्यालय प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा कक्षा १२ का विद्यार्थीले नयाँ साथीहरूप्रति शुभकामना व्यक्त गर्दै विभिन्न सांगीतिक, नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रमको आकर्षण चर्चित गायक निशान भट्टराईको प्रस्तुति रह्यो । भिजिट भिषामा, के माया लाग्छ र ? लगायत आफ्ना चर्चित गीत प्रस्तुत गर्दा विद्यार्थी मात्र नभई शिक्षक, अभिभावक र अतिथिहरूसमेत मन्त्रमुग्ध बनेका थिए । गायक भट्टराइको मधुर स्वर र लोकप्रिय गीतमा विद्यार्थीहरुले छमछम नाचेर कार्यक्रमलाई झन् उल्लासमय बनाएका थिए ।
त्यस अवसरमा विद्यालयका विद्यार्थीहरूले विभिन्न समूहगत तथा एकल नृत्य र सांगीतिक प्रस्तुति राखी कार्यक्रमलाई रंगीन बनाएका थिए । विद्यार्थीहरूले आफूभित्र लुकेका प्रतिभा प्रस्तुत गर्दा वातावरण झनै उत्साहजनक बनेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड घोराहीका प्रमुख कमलप्रसाद आर्याल, विशिष्ठ अतिथि तुलसीपुर उपमहानगरपालिका–६ का अध्यक्ष दुजमान भण्डारी, शिक्षा महाशाखा अधिकृत मन बहादुर खड्का, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत लगायतले विद्यार्थीको शैक्षिक उज्ज्वल भविष्यको कामना गर्दै विद्यालयले देखाइरहेको शैक्षिक प्रगति र विद्यार्थीहरूको सक्रिय सहभागिताप्रति प्रशंसा गर्नुभयो ।
कार्यक्रमहरूले विद्यार्थीहरूलाई आत्मविश्वासी र सृजनशील बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
ज्ञान ज्योति एजुकेशन फाउण्डेशनका सिइओ सुरेन्द्र जिसीले विद्यार्थीको हौसला बढाउन र आत्मीय वातावरण दिन नियमित रुपमा यस्ता कार्यक्रमको आयोजना गर्ने गरिएको बताउनुभयो ।
कार्यक्रमको सञ्चालन शिक्षक सोमराज बस्नेत र सन्तोष केसीले गर्नुभएको हो । ज्ञान ज्योति माविका अनुसार यसवर्षमात्रै ३ हजार ५ सय बढी कक्षा ११ मा भर्ना भएका छन् ।















