दाङ । दाङको तुलसीपुर कारागारबाट भागेका ४८ जना कैदीलाई पक्राउ गरिएको छ । नेपाली सेनाको सहयोगमा ती कैदीहरूलाई पक्राउ गरिएको कारागार प्रशासन तुलसीपुरका प्रमुख गिरबहादुर सेजुवालले बताउनुभयो ।
कारागार प्रशासन प्रमुख सेजुवालका अनुसार तुलसीपुर कारागारबाट हिजो र आज बिहान बुधबार गरी २५३ जना भागेका छन् । तीमध्ये ४८ जनालाई पक्राउ गरिएको प्रमुख गिरबहादुर सेजुवालले जानकारी दिनुभयो ।
हिजो र आज भागेका अझै फरार रहेको उहाँले बताउनुभयो । भाग्नेहरू सबै पुरुष कैदी रहेका छन् । कारागारमा ६ जना आश्रीत बालबालिका सहित ४६९ कैदी रहेको कार्यालयले जनाएको छ । जसमध्ये ४ सय जना पुरुष र ६३ जना महिला रहेका छन् । महिला कैदीहरु कारागार बाट नभागेको प्रमुख सेजुवालले जानकारी दिनुभयो ।
कैदीहरूले आफैँ तोडफोड गरी भागेका हुन् । सेनाले हवाई फायर गर्दा गर्दै पनि उनीहरू भाग्न सफल भएका हुन् । भागेका कैदिहरुको खोजीकार्य जारी रहेको प्रशासनले जनाएको छ । कारागारबाट कैदीबन्दी भागेसंगै सुरक्षा जोखिम बढेको छ ।















