दाङ। घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले पुनर्निमाण कार्यमा एकजुट हुन सबैलाई अपिल गरेको छ । भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा तुलसीपुरमा पनि विभिन्न सार्वजनिक सम्पतिमा क्षति पुगेकोमा दुख व्यक्त गर्दै महासंघले अब आगामी दिनमा सम्पूर्ण युवा एक जुट भएर अघि बढ्नुपर्ने बताएको छ ।
महासंघले जेनजीको आन्दोलनलाई नेपाली समाजको ऐतिहासिक राजनीतिक, सामाजिक र भावनात्मक उत्कर्षको प्रतीकका रूपमा व्याख्या समेत गरेको छ । अध्यक्ष लालबहादुर केसी र महासचिव भद्र बहादुर वलीद्वारा जारी विज्ञप्तीमा आन्दोलनका क्रममा निर्दोष युवाले मृत्युवरण गर्नुपरेकाले दुख व्यक्त गर्दै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामनासहित मृतकप्रति श्रद्धान्जली अर्पण गरिएको छ ।
बिज्ञप्तिमा तुलसीपुर उपमहानगरपालिका अन्तर्गतका क्षेत्रमा सार्वजनिक, निजी, सरकारी तथा व्यवसायिक संरचनामा भएको तोडफोड, आगजनी र क्षतिको घटनाप्रति महासंघ गम्भीर चिन्तित व्यक्त गरिएको छ ।
विज्ञप्तिअनुसार आन्दोलनका कारण स्थानीय आर्थिक गतिविधि ठप्प प्रायः भएको छ भने घरेलु, साना–मझौला उद्योग र थुप्रै श्रमिक प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा प्रभावित भएका छन् ।
साथै महासंघले सधैं सकारात्मक परिवर्तन, व्यवसायिक सुरक्षा, आर्थिक समृद्धि र सामाजिक सद्भाव स्थापनाका पक्षमा उभिने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
















