दाङ । इलाका प्रशासन कार्यालय तुलसीपुरले अतिआवश्यक सेवा घोराहीबाट दिने भएको छ । कार्यालयले आज एक सूचना जारी गदै अत्यावश्यक सेवा चाहिएमा इलाका प्रशासन कार्यालय तुलसीपुरबाट प्रवाह हुने सेवा जिल्ला प्रशासन कार्यालय घोराहीबाट लिन सकिने जनाएको हो ।
भदौ २४ गने जेनजी आन्दोलनका बेला इलाका प्रशासन कार्यालय तुलसीपुरमा आगजनी भएपछि नियमित सेवा प्रभावित भएको छ । आगजनिले गर्दा कार्यालय जलेर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
कार्यालयले आज आइतबार एक सार्वजनिक सूचना जारी गर्दै अस्थायी रूपमा दैनिक प्रशासनिक कामकाज ठप्प रहेको र आपतकालीन अवस्थामा मात्रै जिल्ला प्रशासन कार्यालय घोराहीमार्फत सेवा लिन सकिने जानकारी दिएको छ ।
इलाका प्रशासन कार्यालयले सेवाग्राहीलाई कुनै असुविधा नहोस् भनी तत्कालका लागि घोराहीस्थित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न कार्यालयका उपसचिव महेश कुमार गुरुङले आग्रह गर्नुभएको छ ।
कार्यालयका उपसचिव गुरुङले हस्ताक्षर गरेको सूचनामा अर्को सूचना जारी नभएसम्मका लागि तुलसीपुरबाट दिने सेवाहरू स्थगित गरिएको भनिएको छ ।












