२०८२ मङ्सिर २२ गते सोमवार

भोलिदेखि दाङसहित ४५ जिल्लामा सुपथ मूल्य पसल खुल्ने


दाङ । भोलि सोमबारदेखि दाङलगाएत देशभका ४५ जिल्लामा सरकारी सहुलियत (सुपथ मूल्य) पसल सञ्चालनमा आउने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४५ जिल्लाका १ सय ११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने छ । चाडपर्वको समयमा बजारमा हुने मूल्यवृद्धि नियन्त्रण गर्दै सहुलियत दरमा खाद्यान्न उपलब्ध गराउन कम्पनीले सात प्रदेशका विभिन्न शाखा, डिपो र बिक्री केन्द्रमार्फत यो सुविधा प्रदान गर्न लागेको हो ।

लुम्बिनी प्रदेशमा १५ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिने छ जसमा दाङको तुलसीपुर, रुपन्देही भैरहवा र बुटवल, बाँके नेपालगञ्ज, बर्दिया राजापुर, गुल्मी तम्घास र बलेटक्सार तथा रुकुम पूर्वको शाखा कार्यालय समावेश छन् । रोल्पा जिल्लामा मात्रै लिवाङ सहित पतलाचौर, घर्तीगाउँ, सुलीचौर र बडाचौरमा समेत गरी पाँच स्थानमा सहुलियत पसल खोलिने छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ८ भदौमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले संयुक्त रूपमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने तयारी गरेका हुन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तोकिएकै मिति अर्थात् भोलिदेखि नै सुपथ मूल्य पसल सञ्चालनमा आउने जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश आचार्यले कम्पनीले यसअघि योजना बनाएका सबै सुपथ मूल्य पसल सञ्चालनमा आउने जानकारी दिनुभयो । सुपथ मूल्य पसलमा नुन, चामल, तेलमा आकर्षक छुटको व्यवस्था गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गर्ने पसलहरूमा सबै प्रकारका चामल, गहुँ, दाल र गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइने छ ।

त्यसैगरी खाने तेल (तोरी, सनफ्लावर, भटमास), आटा, पिठो र मैदामा प्रतिकिलो ७ रुपैयाँले सस्तो पर्ने छ । साथै, कर्णालीको सिमी, फापर, चिनो, कागुनो, उवा र जुम्ली मार्सीजस्ता रैथाने उत्पादनमा पनि प्रतिकिलो १० रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।

यस्तै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आम उपभोक्तालाई राहत दिन देशभरि न्यूनतम ४० स्थानमा बिक्री स्थल राख्ने भएको छ । लुम्बिनी प्रदेशका भैरहवा, कृष्णनगर र दाङमा सुपथ मूल्य पसल सञ्चालनमा आउनेछन् ।

कर्पोरेसनले आफ्ना बिक्री केन्द्रहरूबाट नुनमा प्रतिकिलो २ रुपैयाँ, चिनी ५ रुपैयाँ तथा तेल, चिउरा, पिठो, मैदा र दालमा प्रतिकिलो ७ रुपैयाँ छुट दिने जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस