दाङ। सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर शोक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो ।
जारी विज्ञप्तिमा यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भएको बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको भनिएको छ ।
भदौ २३ र २४ गतेको आन्दोलनमा ७२ जनाको निधन भएको छ । दुई दिनको आन्दोलन नियन्त्रण बाहिर पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले २४ गते दिउँसो राजीनामा दिनुभएको हो । यो आन्दोलन लगत्तै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ। यो निर्दलीय सरकारले फागुन २१ गते चुनावको घोषणा गरिसकेको छ ।












