२०८२ माघ ५ गते सोमवार

घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम तिहारपछि शुरु हुने

दाङ । बहुचर्चित घोराही–तुलसीपुर चार लेन सडक निर्माणको काम तिहारपछि शुरु हुने भएको छ । सडक निर्माणको लागि अहिले सर्भेको काम सकिएको छ । चार लेन सडक निर्माणका लागि लागि सर्भे सकेर अहिले साइट भेरिफेकेसनको काम सुरु भएको हो ।

सडक डिभिजन कार्यालय दाङसँगको सहकार्यमा सर्भेको काम सकेर साइट भेरिफेकेसनको काम भइरहेको भन्दै सडक निर्माणका लागि जिम्मा पाएको दिवा/बन्दन भगवती जेभीका कन्ट्र्याक्ट मेनेजर इन्जिनियर सुनिल ढुङ्गानाले भेरिफिकेसनको काम सकेर कात्तिकबाट निर्माणको काम सुरु हुने बताउनुभयो ।

अहिले सडक स्तरोन्नतिका लागि सर्भेको काम सकेर विस्तृत परियोजना प्रतिवेद (डिपिआर) अनुसार सडक निर्माणका क्रममा हटाउनुपर्ने रुख, विद्युत् पोल र घर के कति छन् भनेर पहिचान गर्ने काम भइरहेको बताउनुभयो ।

उहाँका अनुसार साउनको दोस्रो सातादेखि घोराही–तुलसीपुर चार लेन सडकमा निर्माण कम्पनी र सडक डिभिजन कार्यालयका प्राविधिकबाट ज्वाइन्ट सर्भे सुरु भएको थियो । तयार भएको सर्भे प्रतिवेदन मदन भण्डारी सडकमार्ग परियोजना र सडक डिभिजन कार्यालय दाङमा बुझाइएको छ ।

डिपिआर अनुसार घोराहीको डिके पेट्रोल पम्पदेखि तुलसीपुरको हात्तीखौसम्मको करिब २१.५८ किलोमिटर सडकखण्डमा ४३ वटा रुख हटाउनुपर्ने छ । आयोजना सम्झौता अनुसार स्तरोन्नति हुने सडक सहरी क्षेत्रमा २० मिटर कालोपत्रे र फुटपाथसहित ३० मिटर कायम हुने छ ।

ग्रामीण क्षेत्रमा भने १५ मिटर मात्र कालोपत्रे हुने छ । सडकखण्डको करिब ९.५ किलोमिटर सडक सहरी क्षेत्रमा पर्ने छ । घोराही–तुलसीपुर चार लेन सडक स्तरोन्नतिका लागि दुई अर्ब ५३ करोड रुपियाँमा काठमाडौँको दिवा/बन्दन भगवती जेभीसँग २०८२ असार २४ गते ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माण कम्पनीले २०८५ असार २४ गतेसम्म घोराही–तुलसीपुर चार लेन सडक निर्माणको काम सक्नुपर्ने छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस