२०८२ असोज २४ गते शुक्रवार

ज्ञानज्योति फाउण्डेशनद्वारा पालिकालाई अत्यावश्यक सामाग्री सहयोग


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाँउमा रहेको ज्ञानज्योति फाउण्डेशन प्रालि तुलसीपुरले तुलसीपुर उपमहानगरपालिकालाई अत्यावश्यक सामाग्री सहयोग गरेको छ ।

गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा पालिकामा आगजनी हुँदा पालिकाका दुई वटा भवनमा पूर्ण रूपमा क्षति भएका थियो । भवनसँगै कार्यालयमा रहेका सामाग्री पनि जलेर नष्ट भएपछि सेवा प्रवाहमा कठिनाइ भएको थियो । त्यही कठिनाइलाई मध्यनजर गर्दै फाउण्डेशनले आज अत्यावश्यक सामाग्री हस्तान्तरण गरेको हो ।

फाउण्डेशनले नौ थान कम्प्युटर, चार थान प्रिन्टर, तीन थान स्क्यानर, दश थान दराज, १२ थान कुर्सी, दुई थान सोफा र २० थान प्लास्टिकका कुर्सी उपलब्ध गराएको सिइओ सुरेन्द्र जिसीले जानकारी दिनुभयो ।

सामग्री हस्तान्तरण कार्यक्रममा फाउण्डेशनका सिइओ जिसीले यस्ता आपतकालीन परिस्थितिमा सबैले आ–आफ्नो ठाउँबाट सकेको सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले संकटका बेला सरकार र समुदायलाई सहयोग गर्नु सामाजिक जिम्मेवारी भएको उहाँको भनाई छ ।

फाउण्डेशनका संस्थापक अध्यक्ष टिकाबहादुर जिसीले पालिकाको दैनिक कार्य सञ्चालनमा सहजता ल्याउनका लागि तत्काल आवश्यक सामाग्री उपलब्ध गराइएको बताउनुभयो । उहाँले सबैको साथ र सहयोगले पालिकालाई पुनः उठाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

नगर प्रमुख टिकाराम खड्काले फाउण्डेशनलाई धन्यवाद ज्ञापन गर्दै पालिकालाई पीडाको घडीमा मलमपट्टी लगाउने काम गरेको बताउनुभयो । उहाँले यो सहयोगले उपमहानगरलाई ठुलो राहत मिल्ने र कार्यालय सञ्चालनमा सहजता आउने विश्वास व्यक्त गर्नुभयो ।

साथै, जेनजीको प्रदर्शनका क्रममा तुलसीपुरका विभिन्न सरकारी कार्यालयमा समेत आगजनी हुँदा खण्डहर बनेको बताउनुभयो । हाल उपमहानगरपालिकाले अस्थायी टहरा मार्फत सेवा प्रवाह गरिरहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस