तुलसीपुर । मालपोत कार्यालय तुलसीपुरले भोलीदेखि सेवा सुरु गर्ने भएको छ । जेनजी आन्दोलनका क्रममा आगलागीका कारण स्थगित सेवा भोलि शुक्रबारदेखि पुनः सुरु हुने भएको हो ।
गत भदौ २४ गतेको आगलागीपछि कार्यालयको काम ठप्प भएको थियो । कार्यालयले बिहीबार एक सूचना जारी गर्दै पुरानै भवनबाट भोलिदेखि दैनिक कामकाज, धितोबन्धक र रोक्क फुकुवा कार्य सञ्चालन हुने जनाएको छ ।
कार्यालयका प्रमुख खिम बहादुर खड्काका अनुसार राजीनामा, अंशबन्डा, अंश भरपाई, हकछोड, हालैको वकस, शेषपछिको वकस तथा गुठीको मालपोत असुली भने असोज १९ गतेदेखि मात्र सुरु हुने छ ।
उहाँका अनुसार साविकका १३ वटा गाविस तुलसीपुर, लाहुरेचौर, मानपुर, जमविवि, हलवार, डुरुवा फुलबारी,उरहरी टरिगाँउ, बयाले सिमतरा,बाघमारे, धनौरी र हेकुलीमध्ये आगलागिमा जली नष्ट नभएका मोठहरुको मात्र सेवा प्रवाह हुने छ ।
साथै तुलसीपुर, लाहुरेचौर, मानपुर, हलवार, बयाले सिमतरा र बाघमारेको पूर्ण रुपमा सेवा प्रवाह हुने र अन्यको हकमा नजलेर बाँकी रहेका मोठ श्रेष्ताको मात्रै काम हुने कार्यालयले जनाएको हो ।
गत भदौ २४ गतेको आगलागीमा कार्यालयभित्रका सम्पूर्ण जिन्सी सामान, मोठ श्रेष्ता, तामेली मिसिल, मुद्दा तथा प्रशासनिक कागजात, भाडामा लिइएको भौतिक संरचना, विद्युत तथा नेटवर्किङ प्रणाली, सर्भर र स्टेशनरी सामान जलेर नष्ट भएका थियो ।
तत्काल सेवा सुचारु गर्न सिमित स्रोत साधनको उच्चतम प्रयोग गरेको प्रमुख खड्काले जानकारी दिनुभयो । मालपोत कार्यालय तुलसीपुरले तुलसीपुर उपमहानगरपालिकासहित पश्चिम दाङका चार पालिकालाई सेवा दिंदै आएको छ ।
















