कुनै पनि घटनामा भावनाभन्दा कानुनी प्रक्रिया र प्रमाणलाई प्राथमिकता दिनुपर्छ। पक्राउ परेकै आधारमा व्यक्ति दोषी प्रमाणित हुँदैन, र रिहा भएकै आधारमा निर्दोष पनि ठहरिँदैन। सत्य के हो भन्ने कुरा अनुसन्धान र न्यायिक प्रक्रियाले निर्धारण गर्छ, जनआक्रोश, हल्ला वा सामाजिक सञ्जालका टिप्पणीहरूले होइन।
अनुसन्धान र न्यायिक प्रक्रियाले आफ्नो बाटो लिइरहेको अवस्थामा तथ्य नबुझी प्रशासन वा अनुसन्धान निकायमाथि आक्रोश पोख्नु उचित हुँदैन। सम्बन्धित निकायहरूले कानूनअनुसार आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका हुन सक्छन्, जसका सबै विवरण तत्काल सार्वजनिक रूपमा उपलब्ध नहुन पनि सक्छन्। त्यसैले हतारमा निष्कर्ष निकाल्नु भन्दा अनुसन्धानको अन्तिम परिणाम कुर्नु नै जिम्मेवार नागरिकको कर्तव्य हो।
न्याय प्रक्रिया चलिरहेकै बेला गरिने अनावश्यक आरोप ,प्रत्यारोप, चरित्रहत्या र भावनात्मक प्रतिक्रिया सत्यको खोजीमा सहयोगी हुँदैनन्। बरु यसले समाजमा भ्रम, अविश्वास र अनावश्यक विभाजन सिर्जना गर्न सक्छ।
न्यायको बाटो प्रमाणले तय गर्छ, भीडको आवाजले होइन।
जतिसुकै आदर्शवादी कुरा गरे पनि जीवनको एउटा सत्य बिर्सनु हुँदैन जब हामी अरूतर्फ एउटा औंला उठाउँछौं, बाँकी चार वटा औंला आफ्नैतर्फ फर्किरहेका हुन्छन्। अरूको एउटा गल्ती देखेर न्यायाधीश बन्ने क्रममा कतै हामी आफैंले गरेका चार वटा गल्तीले अरूलाई पीडा दिइरहेका त छैनौं भन्ने आत्मसमीक्षा पनि उत्तिकै आवश्यक छ। अरूको कमजोरीमाथि निर्णय सुनाउनुभन्दा पहिले आफ्ना व्यवहार र जिम्मेवारीतर्फ पनि हेर्न सक्नुपर्छ।
त्यसैले न्यायको पक्षमा उभिने हो भने आक्रोश होइन, प्रमाणको पक्षमा उभिऔं हल्ला होइन, सत्यको प्रतीक्षा गरौं र अरूमाथि औंला उठाउनुअघि आफ्नैतर्फ फर्किएका औंलाहरूले दिएका सन्देश पनि बुझौं।


















