२०८३ जेष्ठ ११ गते सोमवार

आश्वासनको थाङ्नामा कति दिन सुत्ने ? अब बदलौँ तुलसीपुरको नेतृत्व !

एउटा निकै घतलाग्दो उखान छ— ‘धनी बाबुकी छोरीलाई कटहरको तरकारी काट्न दिनु, किनकि उसले कटहरको बोक्रा मोटै तासेर फाल्छे । उसलाई तरकारीको महत्त्व र अभाव थाहा नै हुँदैन । तर, गरिब बाबुकी छोरीलाई आँपको चाना तास्न दिनु, उसले बोक्रा निकै पातलो गरी तास्छे, किनकि उसलाई अभाव र दुःख कस्तो हुन्छ भन्ने राम्रोसँग थाहा हुन्छ ।’

हो, ठ्याक्कै यही उखान आज हाम्रो तुलसीपुरको राजनीतिक परिवेशमा पनि मेल खान्छ । अब आउँदो २०८४ सालको तुलसीपुर उपमहानगरपालिकाको निर्वाचनमा ‘मीठो बोल्छ’ भन्दैमा, दुई–चार जना कार्यकर्ताले सामाजिक सञ्जालमा ‘हाइ हाइ दाजु’ गरेर फेसबुक रङ्गाए भन्दैमा, वा कसैको लहलहैमा लागेर ‘धनी छ’ भन्दैमा त्यस्ता व्यक्तिलाई विगतमा झैँ चुनावमा कदापि जिताउनु हुँदैन ।

हामीले पटक–पटक यस्ता व्यक्तिहरूलाई परीक्षण गरेर हेरिसक्यौँ । चुनाव जिताएर पठायौँ, तर बारम्बार हामी तुलसीपुरवासीलाई उनीहरूले सपना मात्र देखाए, आश्वासन मात्र बाँडे र अन्ततः थाङ्नामा सुताइरहे ।

आफ्नो स्वार्थका लागि छेपाराले रङ्ग फेरे झैँ पार्टी फेर्दै हिँड्नेहरूको अब पृष्ठभूमि हेर्न एकदमै जरुरी छ । नेता पनि यिनै, व्यापार–व्यवसायी पनि यिनकै, तस्करी र राजनीति गर्दै आफूले आफैँलाई सञ्चारमाध्यममार्फत ‘समाजसेवी’ भन्न भ्याउने पनि यिनै !

यस्ता धनाढ्य महासयहरू मेयर पद लड्न करोडौँ खर्च गरी वर्षदिन अघिदेखि नै तम्तयार भएर आउँछन् ।

के तिनले साच्चिकै हामी जस्ता गरिब र मध्यमवर्गीय तुलसीपुरवासीको पीडा बुझ्न सक्छन् त ? त्यसैले तुलसीपुरवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा विनम्र अनुरोध छ–‘अब भोट हाल्दा हामी सच्चिएर हेरौँ । कतै हामी अन्धभक्त भइदिँदा भोलि हाम्रा छोरा–नाति र भावी सन्ततिले दुःख भोग्ने दिन नआउला भन्न सकिँदैन । त्यसैले बेलैमा छातीमा हात राखेर मनन गर्ने बेला आएन र अझै ?

यति भनिरहँदा, हिजोका दिनमा राम्रो र उत्कृष्ट काम गर्ने मेयर हामी तुलसीपुरवासीले नपाएको भने होइन । तर कताबाट राम्रो काम गर्नेको खुट्टा तान्ने र उसलाई कसरी गिराउने भन्ने प्रवृत्तिका कारण नेपालभरिकै उत्कृष्ट उपमहानगरपालिका बनाउँदा पनि हामीले घनश्याम पाण्डेलाई अनेकौँ आरोप–प्रत्यारोप लगाएरै छोड्यौँ ।

कसैको व्यक्तिगत जीवनमा हामी किन जाने ? उनका छोराछोरीले के गरे, त्यो उनको निजी मामिला हो, त्यसको निधिखुदी हामीलाई किन चाहियो ? हामीलाई त हामीले जिताएको मेयरले नगरको राम्रो विकास गरिदियोस् भन्ने मात्र सरोकार हुनुपर्ने होइन र ? हो, हिजो हामी केही अराजक र विकासविरोधी तत्व—जसले समाज बनेको हेर्न चाहँदैनथे—तिनीहरूको अफवाहमा लाग्यौँ।

राम्रा काम गरेका मेयरलाई पनि नराम्रो बनाउन खोज्यौँ। आफ्नो आत्मामाथि एकछिन हात राखेर सोध्नुस् त— के घनश्याम पाण्डेले काम गरेका थिएनन् ? देशकै उत्कृष्ट उपमहानगरपालिका बनाएकै थिए र अझै बनाउँदै थिए, तैपनि विरोध गरियो । मलाई त यसमा आत्मग्लानी हुन्छ, तर कतिपयलाई राम्रो काम गर्नेको खुट्टा तान्ने बानी परिसकेकाले न त आत्मग्लानी हुन्छ, न त पछुतो नै !

मेरो भन्न खोजेको तात्पर्य के हो भने, अबको चुनावमा यस्तो मेयर बनाएर जिताऔँ, जसले तुलसीपुर वडा नम्बर १ देखि १९ सम्म कसैलाई काखा र पाखा नगरि समान विकास गर्न सकोस्। बयाले, अभिधारा, बल्ले, कल्ले, छिल्लिकोटदेखि फुलबारीसम्मका बाटोघाटो, बत्ती, पुल–पुलेसा, शिक्षा र स्वास्थ्यमा ध्यान दिन सकोस् ।

तुलसीपुर बजारमा बसेर वडा नम्बर १ को चुरेघाटी र चिउरीडाँडा कहिल्यै नपुगेको, नामै नसुनिएको व्यक्तिले उम्मेदवारी दिन लाग्दा अझै पनि ‘हाइ दाई, हाइ दाई’ भनिरहने ? के त्यो पातुखोला पश्चिम महिनामा एक दिन पनि पाइला नटेक्ने, त्यस्ता व्यक्तिले वडा नं. १, २, ३, ८, ९ को विकास गर्छन् भनेर तपाईं सोच्न सक्नुहुन्छ ?

उनीहरूका छोराछोरी कहाँ छन्, अनि तपाईं हाम्रा छोराछोरी कहाँ छन् ? उनीहरूले सधैँ तपाईं–हामीलाई थाङ्नामा सुताएर कत्रा–कत्रा बङ्गला बनाए, घर–घडेरी किने, तर तपाईं–हामीलाई सधैँ सपना देखाएर ‘सुकुम्बासीलाई लालपुर्जा दिन्छौँ’ भन्दै आफ्नो राजनीतिको गोटी मात्र बनाए ।

खोलापारि दुधेना–टिकरीबाट किसानले १० दाना बन्दागोभी ल्याएर बेच्न नपाउने, बल्ले, कल्ले र अम्बासबाट ल्याएको चार मुठा निहुरो बेच्न नपाउने, भमकेबाट एक डोको आँप ल्याएर बेच्न नपाउने, तर रातारात भित्र्याइएको भारतीय तरकारी मन्डीमा खुलमखुल्ला बेच्न पाइने ? यो बिचौलिया सेटिङको अन्त्य गर्न सक्ने, हाम्रै माटो र परिवेश बुझेको व्यक्तिलाई रोजौँ ।

त्यसैले अब के बुझ्न जरुरी छ भने, धनी बाबुकी छोरीलाई आँपको अम्चुर बनाउन दिए उनले कसरी तास्छिन् होला, अनुमान लगाउनुस् । उनलाई के मतलब जति तासे पनि ! किनकि उनलाई त्यसको अभाव र महत्त्व थाहा हुनुपर्यो नि । त्यसैले गरिबी, अभाव र समाजसँग रुझेको, भुइँमान्छेको पीडा बुझेको व्यक्तिलाई अब तुलसीपुरको मेयर बनाएर पठायौँ भने मात्र साच्चिकै विकास हुन सक्छ । तुलसीपुरलाई गर्व गर्न लायक ‘हाम्रो तुलसीपुर, राम्रो तुलसीपुर’ बनाउन सकिन्छ ।

केवल व्यापार–व्यवसाय मात्र गरेको पृष्ठभूमिका व्यक्तिलाई मेयर बन्नबाट ठाउँको ठाउँ रोकौँ । एउटा विशुद्ध व्यापारीले कहिल्यै अरू सबल बनेको देख्न सक्दैन, उसले केवल आफ्नो दुनो सोझ्याउने हो । उसको काम व्यापार गर्दासम्म देखाउनका लागि मात्र जनतालाई सहयोग गरे जस्तो नाटक गर्ने हो । त्यस्ता व्यक्तिबाट तुलसीपुरको विकास होला भनेर कल्पना गर्नु नै व्यर्थ छ ।

त्यसैले अब राम्रोसँग विचार गरौँ— कस्ता व्यक्तिलाई तुलसीपुर उपमहानगरपालिका हाँक्न दिने? अब परिवार, टोल–छिमेक र आफन्तसँग सल्लाह गरेर मात्र आफ्नो अमूल्य मत दिऔँ । अझै पनि खोक्रा आश्वासन दिने र गफ मात्र गर्नेलाई जिताएर पछि पछुताउने कि, हाम्रो तुलसीपुरलाई साँच्चिकै बस्न लायक र सुन्दर बनाएर गर्व गर्ने? विचार तपाईंको हातमा छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस