
दाङ, १६ असोज । नेपालभरि महान चाड बडादशैंको उत्सव धुमधामका साथ मनाइँदैछ । सबै समुदायका मानिसहरू आ–आफ्नै परम्परा अनुसार रमाइरहेका बेला कोही मामा घर जाने तयारीमा छन्, कोही ससुराली र माइतीमा जानेमा, त कोही गाउँघर फर्केर परिवारसँगै टिका थाप्ने तयारीमा व्यस्त छन् ।
तर यिनै उत्सवमय माहोललाई थाती राख्दै समाजसेवी उपेन्द्र पौडेल भने दशैँको दिन बिहानैदेखि हातमा बेल्चा लिएर सडकमा रहेका खाल्टा–खुल्डी पुर्नुभयो ।
दशैंको दिन सडक मर्मत गरिरहेको देखेपछि उहाँलाई ‘दशैं नमनाउने त ?’ भन्ने प्रश्न गरिएको थियो । पौडेलले मुस्कुराउँदै भन्नुभयो–‘दशैं त मनाउने नै हो तर दशैं भन्दा ठूलो देश र नागरिक होइन र ? त्यसैले पहिले धर्म सेवा, त्यसपछि परम्परा पनि मनाउन पाइन्छ ।’
उहाँको भनाइमा चाडपर्व परम्पराअन्तर्गत पर्छन् । जसले केही समयको मात्र खुशी दिन्छन् । तर त्यसको असर दीर्घकालीन हुँदैन । उहाँले उदाहरण दिँदै भन्नुभयो–‘चाडबाड भनेको रक्सीझैँ हो, दुई–चार घण्टा मस्ती, अनि पछि सास्ती । चाड सकिएपछि फजुल खर्च र हैरानी मात्रै बाँकी रहन्छ । तर धर्म भने अर्कै कुरा हो । धर्मले खुशी होइन, आनन्द दिन्छ, त्यो पनि दीर्घकालीन आनन्द । जीवित रहुन्जेल पनि र मृत्युको बेला पनि धर्मले आत्मालाई अबिचलित राख्छ ।’
समाज र नागरिकलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउने पौडेलले यही कारणले दशैंको दिन पनि सडक मर्मत गर्ने निर्णय लिएको स्पष्ट पार्नुभयो । राष्ट्र सेवक, देशभक्त तथा समाजसेवी उपेन्द्र पौडेललाई यस्तो प्रेरणादायी कामका लागि धेरै धन्यवाद ज्ञापन गरेका छन् ।