२०८२ कार्तिक ३० गते आइतवार

तुलसीपुर कारागारबाट भागेका ८९ जना कैदीबन्दी अझै बाहिर

दाङ । तुलसीपुर कारागारबाट भागेका ८९ जना कैदीबन्दी अझै फरार रहेका छन् । कारागार प्रशासन प्रमुख गिरबहादुर सेजुवालका अनुसार कारागारबाट भागेका २५३ जना मध्ये ८९ जना अझै सम्पर्कबिहिन रहेका छन् ।

तुलसीपुर कारागारबाट भागेका १६४ जना भने पक्राउ परिसकेका छन् । उनिहरुमध्ये १७ जना जिल्ला बाहिरका कारागारमा रहेका छन् । कारागारमा अहिले २९९ पुरुष कैदीबन्दी रहेका छन् भने ६० कैदीबन्दी महिला रहेका छन् ।

२४ भदौमा कारागारबाट भागेका कैदीबन्दीलाई कारागार प्रशासनले आजसम्म फर्कने अन्तिम म्याद दिएको छ । आजसम्म नफर्कनेमाथि कारागार नियमावलीअनुसार थप सजाय हुने भएको छ ।

गत १० असोजमा बसेको गृह मन्त्रालयको बैठकले २० असोजसम्म कारागार फर्कनेलाई थप सजाय नहुने निर्णय गरेको थियो । तर, अझै करिब ६ हजार कैदीबन्दी कारागारबाहिर छन्‌ । २४ भदौमा करिब १३ हजार कैदीबन्दी कारागारबाट भागेका थिए । भागेकामध्ये आधा फर्किए पनि आधा अझै बाहिरै छन्‌ ।

कारागार व्यवस्था विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार सोमबारसम्म कारागार नफर्कने कैदीबन्दीलाई कारागार ऐन, २०७९ अनुसार कारबाही हुनेछ । जसअनुसार कारागारबाट भागेको कसुरमा उनीहरूमाथि ५० प्रतिशतसम्म सजाय थप हुनेछ ।

कारागारबाट फरार भएका कैदीबन्दी पक्राउ गर्न हरेक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरिएको छ । समितिलाई खोजतलास र निगरानीलाई सघन बनाउन गृह मन्त्रालयले निर्देशन दिएको छ । फरार कैदीबन्दीलाई लुकाउनेलाई समेत कारबाही गरिने विभागले जनाएको छ । साथै कारागारबाट भागेका बन्दीहरू कतै देखेमा नजिकको प्रहरीमा खबर गर्न आग्रह गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस