दाङ । दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औँ वार्षिक साधारणसभा आजदेखि शुरु भएको छ । संस्थाले आज (आइतबार) एक कार्यक्रमको आयोजना गरी तुलसीपुर उपमहानगरपालिका–७ झुमेरमा वार्षिक साधारण सभाको उद्घाटन गरेको हो ।

आजदेखि सुरु भएको साधारणसभामा संस्थाले नीति–कार्यक्रम, बजेट र लेखा प्रतिवेदनसहित १४ बुँदे प्रस्तावमा छलफल सुरु गरेको छ ।
साधारण सभामा संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले चालु आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । उहाँले सिमित स्रोत साधन र पुँजीबाट शुरु भएको संस्थाले अहिलेसम्म एक अर्ब बढीको कारोबार गरिसकेको बताउनुभयो ।
संस्थाले पाँच वटा ठुला व्यवसाय संचालन गरिरहेको बताउँदै उहाँले १ सय १० जनालाई प्रत्यक्ष रोजगारी दिएको र एक हजार दुई सय भन्दा बढीलाई स्वरोजगार प्रदान गरेको बताउनुभयो । उहाँले संस्थाकोे वासलात ३४ करोड पुगेको बताउनुभयो ।
अध्यक्ष भण्डारीले संस्थाले पञ्चवर्षीय रणनीतिक योजना बनाई आर्थिक वर्ष २०७६–७७ देखि व्यवस्थित र क्रमबद्ध रुपमा वृद्धि विकास र सफलताका कामहरू योजनाबद्ध रुपमा अगाडि बढाएको बताउनुभयो । दोस्रो पञ्चवर्षीय रणनीति योजना २०८१ देखि ८६ को प्रथम वर्षका लागि तय भएका संस्थागत व्यावसायीक तथा वित्तीय लक्ष्यहरु उत्साहजनक रुपमा पुरा भएको उहाँको भनाई छ ।

संस्थाका कोषाध्यक्ष बिजय सुवेदीले आर्थिक प्रगति प्रतिवेदन र चालु आर्थिक वर्षको लागि प्रस्तावित बजेट प्रस्तुत गर्नुभयो । उहाँले आर्थिक वर्ष २०८१/२०८२ मा चुक्ता शेयर पुँजी ४ करोड ५३ हजार ५ सय रहेकोमा चालु आर्थिक वर्षमा ५० लाख ४६ हजार ५ सयले वृद्धि गरी ४ करोड ५१ लाख पुर्याउने लक्ष्य रहेको बताउनुभयो ।
कोषाध्यक्ष सुवेदीले गत आर्थिक वर्ष २०८१/२०८२ मा २२ करोड २४ लाख ५६ हजार ८९१ रुपैंया ३० पैंसा रहेको बचत रकम चालु आर्थिक वर्षमा २७ करोड ९१ लाख ९३ हजार ९६० रुपैंया पुर्याउने लक्ष्य रहेको बताउनुभयो । यो वर्षको खुद बचत १ करोड ६१ लाख ५२ हजार ९१० रुपैंया रहेकोमा आगामी वर्षमा २ करोड १६ लाख ५४ हजार ५८१ रुपैंया पुर्याउने लक्ष्य रहेको बताउनुभयो ।
संस्थाका सचिव कृष्णप्रसाद पोखरेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । उहाँले संस्थाले संचालन गरेको सबै विभागका प्रगति समिक्षा गर्नुभएको हो । यस्तै लेखा सुपरिवेक्षण समितिका संयोजक सुर्यप्रसाद शर्माले लेखा समितिको प्रतिवदेन प्रस्तुत गर्नुभएको थियो । उहाँले संस्थाले सञ्चालन गरेका विभागहरुमा देखिएका राम्रा र सुधार गर्नुपर्ने पक्ष प्रस्तुत गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा संस्थाका सल्लाहकार राम बहादुर ओलीले संस्थाले अहिलेसम्म लक्षित नीति कार्यक्रमलाई लागु गर्न सफल भएको र आगामी दिनमा पनि सफल हुने बताउनुभयो । संस्थाका उपाध्यक्ष बुद्धिराम बिसीको स्वागत मन्तव्यबाट शुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण प्रमुख कार्यकारी अधिकृत जनक भण्डारी र हाम्रो पहुँच सेकेन्डरी स्कुलका प्रधानाध्यापक डिआर भण्डारीले गर्नुभएको हो ।

आजदेखि शुरु भएको साधारणसभा २६ गतेसम्म संचालन हुने भएको छ । संस्थाले शेयर सदस्यकै पाएक पर्ने केन्द्रमा वार्षिक साधारण सभा गर्न लागेको हो । संस्थामा करिब ५ हजार शेयर सदस्य भएको हुँदा वार्षिक साधारण सभा एकै ठाउँमा सम्भव नहुने भएकाले पनि विभिन्न मितिमा विभिन्न स्थानमा गर्न लागिएको संस्थाका अध्यक्ष भण्डारीले बताउनुभयो ।
संस्थाले भोलि असोज २१ गते तुलसीपुर–१, २, ५, ६ ,८ र ९ का सबै शेयर सदस्यका लागि केन्द्रिय कार्यालय झुमरेमै साधारण सभा गर्ने तालिका छ । यस्तै २२ गते रानागाउँ स्कुल, २३ गते गुरुजजुर मावि रक्षाचौर, २४ गते बनगाउँ स्कुल, २५ गते मावि कालाखोला र २६ गते जनकल्याण मावि दुधरासमा साधारण सभा हुने भएको छ ।
साधारणसभामा १४ बुँदे प्रस्ताव पेश गरिने, बितेको आर्थिक वर्षको समिक्षा र चालु वर्षको नीति कार्यक्रम तथा बजेट, लेखा सुपरिवेक्षण समिति प्रतिवेदन, कार्यविधि स्विकृति तथा संसोधन, कोषमा रहेको रकम वितरण, सहकारी एकिकरण अख्तियारी, बाह्र ऋण तथा अनुदान लिने अख्तियारी, लेखा परिक्षकको नियुक्ति र पारिश्रमिक, कर्मचारीको नियुक्ति, पारिश्रमिक, सेवा सुविधा निर्धारण अख्तियारी लगायतका प्रस्तावमा छलफल हुने सचिव पोखरेलले बताउनुभयो ।











