दाङ । दाङको घोराहीमा रहेको बुुद्ध इन्टरनेशनल हस्पिटल प्रालिको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा किशोर कुमार आचार्य नियुक्त हुनुभएको छ ।
अस्पतालबाट प्रवाह गरिने स्वास्थ्य सेवा क्षेत्रको व्यवस्थापन र गुणस्तर सुधारमा नेतृत्व प्रदान गर्ने उद्देश्यका साथ अस्पतालले आज आइतबार आचार्यलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
आचार्य लामो समयदेखि जनस्वास्थ्य क्षेत्रमा क्रियाशील रही उल्लेखनीय अनुभव हासिल गरेको व्यक्ति हुनुहुन्छ । उहाँले विगतमा स्वास्थ्य कार्यालय दाङको प्रमुखका रूपमा कार्य गर्दै दाङको स्वास्थ्य प्रणाली सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
नवनियुक्त सिइओ आचार्यले आज पदभार ग्रहण गर्दै अस्पताललाई गुणस्तरीय, जनमैत्री र विश्वासिलो स्वास्थ्य संस्थाको रूपमा रूपान्तरण गर्ने बताउनुभयो । उहाँले सेवा सुधार, व्यवस्थापकीय पारदर्शिता र जनविश्वास निर्माण आफ्नो प्रमुख प्राथमिकता रहेको बताउनुभयो ।
२०७४ सालमा स्थापना भएको अस्पतालले दाङलगाएत विभिन्न जिल्लाका नागरिकहरुलाई विभिन्न स्वास्थ्य सेवा प्रवाह गदै आएको छ ।












