दाङ । दाङमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले तुलसीपुरका दुई जना र घोराहीका एक जना गरी तीन जनालाई लागूऔषध ट्रामाडोल एचसिएल क्याप्सुल ९६ पत्ता र मोटरसाइकलसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्र बहादुर शाहका अनुसार तुलसीपुरका दुई जनालाई घोराही–१२ हापुरखोलाबाट र घोराहीका एक जनालाई घोराही–१५ नवज्योति टोलस्थित सडकबाट पक्राउ गरिएको हो ।
प्रहरीले तुलसीपुर–७ पर्सेनीका पियुष जिसी र तुलसीपुर–६ का २० वर्षिय एक्लिस केसीलाई हापुरखोला नजिकबाट पक्राउ गरेको हो । शंकस्पद अवस्थामा पियुसले चलाएको रा ७ प ४२८२ नम्बरको मोटरसाइकललाई रोकेर जाँच गर्ने क्रममा सोहि मोटरसाइकलको पछाडी सवार केसी पनि पक्राउ परेको डिएसपी शाहले बताउनुभयो । उनीहरु दुवै जनालाई आइतबार साँझ ४ बजेतिर पक्राउ गरिएको हो ।
प्रहरीले केसीले बोकेको झोलाबाट ४० पत्ता ट्रामाडोल एचसिएल क्याप्सुल बरामद गरिएको छ । दुवै जनालाई खानतलासी गर्ने क्रममा प्रहरीले घोराही उपमहानगरपालिका वडा नम्बर ९ घर भई घोराही–१५ बुद्धि ग्यारेज नजिकै बस्ने ५३ वर्षिय खुमबहादुर खत्रीलाई पनि पक्राउ गरेको छ । खत्रीको साथबाट प्रहरीले ५६ पत्ता ट्रामाडोल एचसिएल क्याप्सुल बरामद गरेको छ ।

डिएसपी शाहका अनुसार खुमबहादुरले नै तुलसीपुरका दुई जना पियुस र एक्लिसलाई ४० पत्ता ट्रामाडोल बिक्रि गरेका थिए । खत्रीलाई रा २ प ५०७८ नम्बरको मोटरसाइकलमा हिडिरहेको अवस्थामा घोराही–१५ नवज्योति टोलस्थित सडकबाटै आइतबार साँझ ५ बजेतिर पक्राउ गरिएको हो । तीनै जनालाई जिल्ला अदालत दाङबाट १० दिनको म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।










