दाङ । दंगीशरण गाउँपालिकामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सञ्चार रणनीति २०८२ को मस्यौदामाथि छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ ।
दंगीशरण गाउँपालिकाको आयोजनामा र ओरेक नेपालको सहकार्यमा गाउँपालिका सभाहलमा आयोजित उक्त कार्यक्रममा मस्यौदामाथि विस्तृत छलफल गरी पाँच वर्षे कार्ययोजना समेत निर्माण गरिएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सञ्चार रणनीतिले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकाभित्र विपद् व्यवस्थापनका लागि आवश्यक सबै संरचनाहरू तयारी अवस्थामा रहेको समेत जानकारी दिनुभयो ।
त्यसैगरी वडा नंम्बर ४ का वडा अध्यक्ष कमल थारुले मस्यौदा कागजमा सीमित नराखी त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न निकायका प्रतिनिधि र सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।












