सल्यान। राष्ट्रिय साना सहरी खानेपानी महासंघका अध्यक्ष खेमराज वलीले सल्यानको कपुरकोट गाउँपालिकामा खानेपानीको अवस्थाका बारेमा जानकारी लिनुभएको छ ।
आइतबार कपुरकोट गाउँपालिकामा पुगेर पालिका भित्र खानेपानीको अवस्थाका बारेमा जानकारी लिएकाे हाे ।
भेटघाटका क्रममा पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले हालसम्म गाउँपालिकामा २४ वटा मुहानहरू दर्ता भएकाे बताउनुभएको थियाे।
जसमध्ये ५ वटा लिफ्टिङ आयोजना र बाँकी उपभोक्ता समिति अन्तर्गत सञ्चालनमा रहेका छन्। उहाँका अनुसार हालसम्म करिब १ हजार २ सय घरधुरीमा धारा जडान भएकाे अनुमान गरिएको छ, तर एकीन तथ्याङ्क भने नभएकाे जानकारी दिनुभयो ।
गाउँपालिकामा हाल १७,५२६ जनसंख्या (महिला ९,१५७ र पुरुष ८,३६९) रहेको जनाइएको छ। कुल ३,९७४ घरधुरी रहेको पालिकामा प्रयोग हुने पानीको गुणस्तर मापनका लागि अहिलेसम्म कुनै व्यवस्था नभएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले जानकारी दिनुभयो।
साे क्रममा महासंघका अध्यक्ष वलीले प्रत्येक नागरिकले स्वच्छ र सुरक्षित पानी पिउन पाउनु मौलिक अधिकार भएको बताउँदै स्थानीय सरकारले त्यसतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयाे “सामान्य वार्षिक बजेटमै पानी शुद्धिकरणका लागि ल्याब स्थापना गरेर एक जना प्राविधिक व्यवस्थापन गर्न सके पालिकावासीले प्रयोग गरिरहेको पानीको गुणस्तर जाँच गर्न सकिन्छ।”
वलिले पानीको गुणस्तर परीक्षणका लागि नेपालगञ्ज जानुपर्ने वाध्यता रहेकाले सथानिय सरकारले प्रयोगशाला स्थापना गर्न पहल थाल्नुपर्ने बताउनुभयाे ।
नेपालमा खानेपानीकै कारण ८० प्रतिशतभन्दा बढी स्वास्थ्य समस्या हुने भएकाले हरेक नागरिकलाई स्वस्थ पिउने पानी उपलब्ध गराउनु राज्यको दायित्व भएको बताउनुभयाे ।
यस्तै अध्यक्ष वलीले आगामी बजेटमा पानी परीक्षण प्रयोगशाला स्थापना र जनशक्तिकाे व्यवस्था गरेर पालिकावासीलाई शुद्ध पानी वितरण गर्न आग्रह गर्नुभयो।












