तुलसीपुर । तुलसीपुरका युवाहरुले चाडपर्वको समयमा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । तिहारको अवसरमा ‘सक्नेले दिने नसक्नेले लिने’ अभियान अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१९ का युवाहरुले आज विपन्न परिवालाई खाद्यान्न सहयोग गरेका हुन् ।
युवा तथा सामाजिक अगुवाहरूले विभिन्न टोलहरूमा पुगेर विपन्न, अशक्त र अपाङ्गता भएका व्यक्तिहरूलाई घरघरमै खाद्यान्न सामग्री वितरण गरेका हुन् । युवाहरूको यो पहलले वडाका धेरै परिवारहरूलाई राहत मिलेको छ । अभियानका सहयोगीहरूले दाल, चामल, तेल र नुनजस्ता आधारभूत खाद्यान्न सामग्रीहरू वितरण गरेका थिए ।
तुलसीपुर उपमहानगरपालिका–१९ का वडा सदस्य रामबहादुर पौडेल र देवारण्य छिल्लीकोट १००८ वरपीपल, समी रोपण अभियानका गोकर्ण पौडेलको नेतृत्वमा खाद्यान्न सामाग्री प्रदान गरिएको हो ।
विभिन्न टोलहरूमा पुगेर आवश्यकता भएकाहरूलाई प्रत्यक्ष सहयोग गरेको वडा सदस्य पौडेलले बताउनुभयो । अभियानमार्फत समाजका कमजोर वर्गलाई समेट्न खोजेको अभियानका अगुवा गोकर्ण पौडेलले बताउनुभयो । यो अभियानले वडामा सामाजिक सद्भाव बढाएको छ ।
अभियानमा मोहन घर्ती मगर, सुरेश भुसाल, लोकेन्द्र बस्नेत, वीरबहादुर वली, इन्द्र खड्का, सागर रेग्मी, रेवती विक, पूर्णबहादुर बुढाथोकी, पलबहादुर वलीलगाएकाले सहयोग गर्नुभएको थियो । विपन्न परिवारहरूले यो सहयोगलाई तिहारको विशेष उपहारका रूपमा ग्रहण गरेका छन् । यो अभियानलाई आगामी दिनहरूमा निरन्तरता दिने बताइएको छ ।










