दाङ। देउसी भैलोबाट संकलित रकम रमाइलोको नाममा खर्च भइरहेका बेला तुलसीपुरमा एक क्लबले विद्यालयमा एक लाख बढीको अक्षयकोष स्थापना गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ गहतेमा रहेको न्यू भिजन परम्परा युवा क्लबले भैलोबाट संकलित रकमबाट तुलसीपुर–९ मा रहेको सरस्वती चौतारा मावि सल्लीबनमा अक्षयकोष स्थापना गरेको हो ।
क्लबका अध्यक्ष सुशान्त मल्लले विद्यालयमा १ लाख २ हजार ८१ बराबरको अक्षयकोष स्थापना गरिएको बताउनुभयो । विद्यालयमा तीन वटा विधामा अक्षयकोष स्थापना गरिएको हो । अक्षयकोषबाट एसइईमा उत्कृष्ट विद्यार्थीका अभिभावकलाई सम्मान गरिने, उत्कृष्ट विषय शिक्षक र उत्कृष्ट सेकेन्ड हुने विद्यार्थीलाई पुरस्कृत गरिने भएको छ ।
विद्यालयका प्रधानाध्यापक लक्ष्मी न्यौपानेले अक्षयकोष स्थापना गर्ने क्लब परिवारप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ । उहाँका अनुसार क्लबले यसवर्ष भैलोबाट २ लाख ७० हजार रुपैँया संकलन भएको थियो । अक्षयकोष स्थापना गरेर बाँकी रहेको रकम केहि क्बलको नाममा जम्मा गरिने र केहि रकम बनभोजमा खर्च गरिने अध्यक्ष मल्लले बताउनुभयो ।
यसैबिच क्लबका सल्लाहकार देवेन्द्र केसीले भैलो खेल्नमा सहयोग गर्ने सम्पूर्णमा हार्दिक आभार प्रकट गर्नुभएको छ । भैलोलाई सफल बनाउनका लागि भाइबहिनीको भूमिका धेरै रहेको भन्दै उहाँले दानदाता र भैलोको सम्पूर्ण टिमलाई धन्यावाद ज्ञापन गर्नुभएको छ ।
क्लबले भैलोबाट संकलित रकम हरेक वर्ष सामाजिक काममा लगाउने गरेको छ । क्लबले गतवर्ष पनि भैलोबाट संकलित रकम शबदाहस्थल निर्माणमा खर्च गरेको हो ॥














