दाङ, १५ कार्तिक । बंगालको खाडीमा विकसित मोन्था चक्रवातको प्रभाव घट्न थालेपछि मौसममा क्रमिक सुधार भएको छ । पश्चिमी वायू, अरब सागरमा विकसित प्रणाली र मोन्था चक्रवातको समेत प्रभावले केही दिनयता वर्षा र हिमपात भैरहेकोमा गएरातिदेखि क्रमिक सुधार हुन थालेको हो ।
मौसमविदका अनुसार आजदेखि मौसममा थप सुधार आउने सम्भावना छ । पानी पर्न कम भएपछि दाङ उपत्यकामा हुस्सु र कुहिरोले प्रभाव बढेको छ । आज बिहानैदेखि लागेको हुस्सु र कुहिरोका कारण सडकमा सवारी साधन संचालनमा समस्या भएको छ ।
यसैबिच मौसममा सुधार भएपनि अझै ३/४ दिन धान काट्ने र भित्र्याउने हतारो नगर्न किसानलाई नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले सुझाव दिएको छ ।
केन्द्रले विशेष प्राविधिक सल्लाह बुलेटिनमार्फत पानी परेका क्षेत्रमा धानखेतमा पानी जमेको भए तत्कालै निकासको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।










