तुलसीपुर । साक्षी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिजौरीको नवौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन आज (शनिबार)सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष दामोदर बस्नेत (राकेश)को अध्यक्षता तथा बिजौरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मुक्तबहादुर ओली (मुकेश)को प्रमुख आतिथ्यतामा साधारणसभाको उद्घाटन गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि ओलीले सहकारीमा बचत गरेर नै सदस्यहरू धनी बन्ने बताउनुभयो । उहाँले जीवनमा कमाउने कुरामात्र ठूलो विषय नभई बचत गर्ने वानीको विकास गर्न सके भविष्यको लागि जिउने आधार बलियो हुने बताउनुभयो । सहकारी संस्था कुनै व्यक्ति विशेषको नभई सबै सदस्यहरु मिलेर सञ्चालन गरिने साझा संस्था भएकाले आफ्नो सम्पत्तिको सुरक्षा पनि सबै सदस्य मिलेर गर्नुपर्ने धारणा राख्नुभयो ।
संस्थामा जति कारोबार गरिन्छ सो कारोबारको आधारमा प्रतिफल पनि सबै सदस्यहरूमा समान तरिकाले वितरण हुने भएकाले सम्पुर्ण सदस्यहरूलाई आफैले सञ्चालन गरेको सहकारी संस्थामै कारोबार गर्न आग्रह गर्नुभयो । बिजौरी क्षेत्रमा साक्षी सहकारीले सहकारीको मुल्यमान्यता अनुसार आर्थिक समृद्धिमा योगदानसंगै सदस्यहरूलाई स्वरोजगार बनाउने काम गरिरहेको बताउँदै आगामी दिनमा पनि सदस्यहरूलाई उद्धमशील बनाई आर्थिक रूपमा सवल बनाउने कार्यमा जोड दनुपर्ने बताउनुभयो ।

कार्यक्रममा लेखापरीक्षक तुलसी गिरी, नेपाल रेडक्रस सोसाइटी उपशाखा मानपुरका सचिव लोकबहादुर ओली, साँक्षी खबर पत्रिकाका प्रधान सम्पादक सुनिलकुमार पोख्रेल लगाएतका वक्ताले सानो–सानो पूँजीलाई एकीकृत गरेर सहकारीले स्थापनाको छोटो समयमै सदस्यहरूको मन जित्न सफल भएको बताएका थिए ।
सहकारीले धनी वर्गका लागि केन्द्रित नभई निम्नवर्गका समुदायलाई धनी बनाउने कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् । साधारण सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन सचिव राजन लामिछाने, आर्थिक प्रतिवेदन कोषाध्यक्ष रविन्द्र केसी र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक शरण जीएमले प्रस्तुत गर्नुभएको थियो ।
शिक्षा उपसमिति संयोजक गोकर्ण पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव राजन लामिछानेले गर्नुभएको हो । २०७४ सालमा स्थापना भएको सहकारी संस्थामा ९ सय ५३ जना शेयर सदस्य रहेका छन् । संस्थाले बचत तथा ऋण कारोबार गर्दै आएको छ ।
नयाँ कार्यसमिति निर्विरोध, नेतृत्वमा फेरि बस्नेत
संस्थाको आजै सम्पन्न तेस्रो अधिवेशनबाट पुनः दामोदर बस्नेत (राकेश)को अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित भएको छ । बस्नेतको यो तेस्रो कार्यकाल हो ।

समितिको उपाध्यक्षमा भगवता भट्टराई, सचिव राजन लामिछाने, कोषाध्यक्ष रविन्द्र केसी, सदस्यहरूमा शान्ता पुन, मालता केसी, च्यवन भट्टराई र लेखा सुपरिवेक्षण समितिको संयोजकमा शरण जिएम निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक गोकर्ण पौडेलले जानकारी दिनुभयो । निर्वाचित नयाँ पदाधिकारीलाई पद तथा सपथग्रहण गराइएको उहाँले बताउनुभयो ।












