दाङ । राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता १० महिनामा ३ सय ६ जना नेपालीलाई अमेरिकाबाट निष्कासित गरिएको छ । ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता २०२५ जनवरीदेखि अक्टोबरसम्मको १०महिना अवधिमा गैरकानुनी रूपमा अमेरिकामा बसोबास गर्दै आएका ३ सय ६ जना नेपालीलाई निष्कासित गरिएको हो ।
यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले गैरकानुनी रूपमा अमेरिकामा बसोबास गर्दै आएका आप्रवासीको खोजी र अनुसन्धानलाई कडाइका साथ तीव्रता दिएसँगै निष्कासित हुने नेपालीको संख्या वृद्धि भएको छ ।
राष्ट्रपति ट्रम्पले गैरकानुनी आप्रवासीलाई नियन्त्रणमा लिने र निष्कासित गर्ने नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएसँगै अमेरिकाले धेरै मुलुकका नागरिकलाई घर फिर्ता पठाएको हो । निष्कासित हुनेमध्ये २ सय ६० पुरुष र ४६ महिला छन् । उनीहरूलाई आइसका प्रतिनिधिको रोहवरमा अमेरिकाबाट चार्टर विमानमार्फत भारत, कतार हुँदै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागलाई बुझाइएको थियो ।
अमेरिकाबाट जनवरीमा ६, फेब्रुअरीमा १८, मार्चमा ३२, अप्रिलमा २६, मेमा ५८, जुनमा ४२, जुलाईमा १७, अगस्टमा १६, सेप्टेम्बरमा ५३ र अक्टोबरमा ३८ जना नेपालीलाई निष्कासित गरिएको तथ्याङ्कमा उल्लेख छ ।
१० महिनाको अवधिमा नेपालीसँगै २० लाख गैरकानुनी आप्रवासी अमेरिकाबाट निष्कासित भइसकेको दाबी गरिएको छ । १६ लाखले स्वतःस्फूर्त रूपमा अमेरिका छोडेको र ४ लाखलाई नियन्त्रणमा लिएर निष्कासन गरिएको अमेरिकी अध्यागमनसम्बन्धी उच्च निकाय होमल्याण्ड सेक्युरिटीले दाबी गरेको छ ।
















