दाङ । दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड मूख्य शाखा कार्यालय तुलसीपुरले आजदेखि धान खरिद गर्ने भएको छ । कम्पनिका सूचना अधिकारी शक्तिराम डाँगीले गढवा गाउँपालिकाबाट धान खरिद गरिन लागेको बताउनुभयो ।
उहाँका अनुसार धान खरिदका लागि आज धान बिक्रि गर्ने किसानको अभिलेखिकरण गरिने छ । सूचना अधिकारी डाँगीले तौलकाँटा भने भोलिदेखि मात्रै हुने बताउनुभयो ।
खाद्यले यसवर्ष धान खरिदका लागि गढवासँगै लमही नगरपालिका र राप्ती गाउँपालिकामा रहेका किसानसँग पनि धान खरिद गर्ने योजना बनाए पनि सम्झौता भने हुन नसकेको सूचना अधिकारी डाँगीले बताउनुभयो ।
खाद्यले तत्कालका लागि दाङमा पाँच हजार क्विन्टल धान खरिद गर्ने छ । तर धान धेरै आएमा कोटा बढ्नसक्ने उहाँले बताउनुभयो । धान खरिदका लागि खरिद केन्द्र निर्धारणसँगै काँटा र बोरा देउखुरी लगिसकेको सूचना अधिकारी डाँगीले जानकारी दिनुभयो ।
सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि धानको न्यूनतम समर्थन मूल्य मोटा धानको प्रतिक्विन्टल मूल्य तीन हजार चार सय ६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको मूल्य तीन हजार छ सय २८ रुपैयाँ ३३ पैसा तोकेको छ ।












