दाङ । दाङमा अबैध रुपमा भन्सार छलि ल्याएको चिनि बरामद गरिएको छ । राप्ती गाउँपालिका–१ भालुवाङ पुलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा आज प्रहरीले अबैध चिनी बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको चेकिङ टोलीले आज सोमबार कपिलबस्तुबाट प्युठानतर्फ जाँदै आएको लु.प्र.०१–००१ ख ००५८ नम्बरको मिनी ट्रक रोकेर जाँच गरेको थियो ।
जाँचका क्रममा भारतबाट चोरी पैठारी गरी भन्सार छल्दै ल्याइएको २८ बोरा चिनी फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक बोरा ५० केजी तौलका रहेका चिनीको प्रति किलो मूल्य १०० रुपैयाँका दरले कुल मूल्य १ लाख ४० हजार रुपैयाँ बराबर पर्छ ।

चिनी सोही ट्रकको अनुमानित मूल्य करिब २५ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बरामद गरिएको मिनी ट्रक र चिनी गरी जम्मा करिब २६ लाख ४० हजार रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय कपिलवस्तु बुझाईएको डिएसपी शाहले जानकारी दिनुभयो ।















